शेखर समूहले बोलाएको बैठकमा विश्वप्रकाश र प्रदीप नजाने

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, १२ : २८
शेखर समूहले बोलाएको बैठकमा विश्वप्रकाश र प्रदीप नजाने

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलामा पार्टीका महामन्त्री विश्वप्रकास शर्मा र युवा नेता प्रदीप पौडेल सहभागी नहुने भएका छन् । संस्थापन इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाले आज दिउँसो १ः३० बजे बस्ने गरि आफ्नो समूहको बैठक डाकेका थिए । उक्त बैठकमा शर्मा र पौडेललाई पनि बोलाइएको थियो ।

एक नेताका अनुसार महामन्त्री शर्माले आफू बैठकमा सहभागी नहुने खबर कोइराला पक्षलाई पठाईसकेका छन् । उनले एक ट्वीट गर्दै आफू पाटीको महामन्त्रीको जिम्मेवारीप्रति सजग रहेको उल्लेख गर्दै बैठकमा नजाने जनाउ दिईसकेका छन् । भने, अर्का नेता प्रदीप पौडेल चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नहुने भएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बोलाइएको छ ।

पछिल्लो समय कांग्रेसभित्र शेखर कोइराला र अर्का महामन्त्री गगन थापा सरकार परिवर्तनको पक्षमा लागेका छन् । कोइरालाले त सार्वजनिक रुपमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

कांग्रेसले असोज ४ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । आजको बैठकले ४ गते हुने बैठकमा राख्ने मुलभूत एजेण्डाहरु तय गर्ने एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहमा रहेका पौडेल महामन्त्रीमा पराजित भएपछि लामो समय संस्थापन पक्षमा टिकेन । संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस