नेपालबाट बाईबाई ‘मितिनी’ र ‘सोल्टी’

शनिबार, ०२ भदौ २०७५, ०८ : ०५
नेपालबाट बाईबाई ‘मितिनी’ र ‘सोल्टी’

तस्वीरः रासस

काठमाडौँ । नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेको एकसिङ्गे गैंडा ‘मितिनी’ र ‘सोल्टी’ चीनतर्फ लागेका छन् । नेपाल सरकारले ‘मितिनी’ र ‘सोल्टी’लाई कार्गा विमानबाट चीन पठाएको हो ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई गैँडाको जोडी हस्तान्तरण गरेका थिए ।

नेपालबाट पठाइएको यो जोडी गैँडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिने बताइएको छ ।

मन्त्री बस्नेतले गैँडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत चीन सरकारलाई हस्तान्तरण गरेका थिए ।

गैंडा हस्तान्तरणपछि मन्त्री बस्नेतले यस कार्यले दुई मुलुकबीचको मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरे । साथै नेपालमा एक सिङ्गे गैँडा पाइन्छ भन्नेबारेमा मुलुकको पहिचान विश्वमा प्रख्यात हुने मन्त्री बस्नेतको भनाइ थियो ।

 

उक्त जोडी गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट गत साउन २९ गते काठमाडौँ पठाइएको थियो । दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ ।

सरकारले यसअघि विभिन्न १० मुलुकलाई २६ एकसिङ्गे गैँडा उपहार दिइसकेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस