व्यास नगर साइनिङ स्टारको उपाधि रानालाई

रासस

शनिबार, २३ भदौ २०८०, १४ : ५९
व्यास नगर साइनिङ स्टारको उपाधि रानालाई

तनहुँ । जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधिबाट सदीक्षा राना विजयी भएकी छिन् । गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुमेकी हुन् । 

उपाधि चुम्न सफल रानाले रू २५ हजार २३ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् । आभा श्रेष्ठ फस्ट रनरअप बन्दै रू १५ हजार २३ र सदीक्षा थापामगर सेकेण्ड रनरअप बन्दै रू १० हजार २३ बाट घोषित भएका छन् । 

उक्त प्रतियोगितामा १० वर्षमाथिका र १५ वर्षमुनिका दुई बालकसहित २० बालबालिका सहभागी रहेको जेसिआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिए । सामाजिक क्षेत्रमा क्रियाशील बन्दै आएको जेसिआईले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए ।

कोरोनापछिको दोस्रो प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ । कोरोनाको अवधिमा प्रतियोगिता गर्न नसकिए पनि अहिले सहज परिस्थिति भएकाले निरन्तरता दिन थालिएको श्रेष्ठले बताए । उनका अनुसार नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती र कला संस्कृतिलगायतका क्षेत्रमा जेसिआईले जोड दिँदै आएको छ ।

श्रेष्ठका अनुसार बालबालिकालाई विभिन्न प्रशिक्षकबाट एक महिनासम्म तालिम प्रदान गरी प्रतियोगितामा सहभागी गराइएको हो । विजयी प्रतियोगीलाई नगरप्रमुख बैकुण्ठ न्यौपाने, जेसिआई नगरका अध्यक्ष राजु रानालगायतकाले पुरस्कार प्रदान गरेका थिए । उत्कृष्ट १० अवार्डबाट विभिन्न व्यक्तिलाई पुरस्कृतसमेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस