मलेसियाले हटायो अष्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, १३ : ३०
मलेसियाले हटायो अष्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध

काठमाडौं। मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । मलेसियाले सावधानी अपनाउने क्रममा जारी गरेको प्रतिबन्ध आजदेखि हटाइएको भेटेनरी सेवा विभागले जनाएको छ । अष्ट्रेलियाको कृषि, मत्स्य पालन तथा वन विभागसँग दुई चरणमा प्राविधिक छलफल गरेपछि आयात प्रतिबन्ध हटाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

अस्ट्रेलियाबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले अस्थायी प्रतिबन्ध लगाएको थियो ।इन्डोनेसियाका अधिकारीहरूले पहिले नै १३ वटा चौपायामा एलएसडी लागेको जनाउँदै चार स्थानबाट आयात रोकेका थिए ।

अष्ट्रेलियाका भेटेरिनरी प्रमुख मार्क सिपले आफ्नो देशका गाईवस्तुमा एलएसडी लागेको खबर सत्य नभएको दाबी गर्दै त्यसलाई अस्वीकार गरेका छन् । साथै उनले उक्त रोगबाट अष्ट्रेलिया मुक्त रहेको बताएका छन् । 

 

मलेसियाले अष्ट्रेलियाबाट बर्सेनि करिब ५५ लाख डलर बराबरको गाई–भैंसी आयात गर्दै आएको छ । आयात प्रतिबन्ध हटाउने निर्णयले उद्योग र सबै मलेसियालीहरूलाई राहत मिल्ने विश्वास मलेसियाली भेटेनरी सेवा विभागले गरेको छ । 

अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो । गत वर्ष इन्डोनेसियाले अस्ट्रेलियाबाट तीन लाखभन्दा बढी गाई आयात गरेको थियो भने यो वर्ष एक लाख ५३ हजार चौपाया खरिद गरिएको इन्डोनेसियाका अधिकारीहरूले बताएका छन् ।

पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक सङ्क्रामक भाइरल रोग हो जसले दूध उत्पादनमा कमी ल्याउँछ । अस्थायी वा स्थायी रूपमा बाँझोपन हुनका साथै कहिलेकाहीँ गाईवस्तुको मृत्यु समेत हुनसक्ने खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस