काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश समितिको असोज ५ र ६ गते हुने अधिवेशनको तयारी तीब्र पारिएको छ । एमालेले मधेस प्रदेश अन्तर्गत रहेका विभिन्न कमिटीहरुको अधिवेशन धमाधम सम्पन्न गरिरहेको छ । साथै, मधेस प्रदेश कमिटीको अधिवेशनका प्रतिनिधि चयनको कामलाई पनि अगाडि बढाएको छ ।
एमाले मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवका अनुसार प्रदेशको अधिवेशनका लागि भदौ २६ गते प्रतिनिधि छनौट गर्न लागिएको छ । प्रतिनिधि छनौट पालिका तहबाट हुने जनाइएको छ तर दलित र मुस्लिम समुदायका लागि जिल्लालाई एकाई मानिएको अध्यक्ष यादवले बताए ।दलित र मुस्लिमका लागि ५–५ जना प्रतिनिधि छान्नु पर्ने मधेस प्रदेश कमिटीले जारी गरेको निर्देशनमा उल्लेख छ । पाँच जनामध्ये एक जना महिला, एक जना युवा अनिवार्य हुनुपर्ने भनिएको छ । युवाको उमेर ४० वर्ष भन्दा मुनिको हुनुपर्ने निर्देशनमा उल्लेख छ ।
अध्यक्ष यादवले भने, ‘पालिकास्तरबाट छनौट हुने प्रतिनिधिमा खुल्ला, महिला, (४० वर्ष मुनिका) युवा र अन्य क्षेत्रको समावेशीतालाई हामीले विशेष ध्यान दिएका छौँ । युवाका लागि नागरिकताको प्रतिलिपी अनिवार्य गरेका छौँ ।’त्यस्तै, विभिन्न पार्टीबाट एमाले पार्टीमा प्रवेश गरेकालाई प्राथमिकतामा राख्ने पनि उनले बताए । सबै जिल्लाले जिल्ला कमिटी वा सचिवालयको बैठकबाट भाद्र १५ गतेभित्र प्रतिनिधि छनौटको लागि प्रत्येक पालिका र दलित, मुस्लिम समुदाय क्षेत्रका लागि बुद्धिजीवी र पेशाकर्मीबाट प्रमुख अधिकृत र २ जना अधिकृत रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्देशनमा उल्लेख छ ।
निर्वाचन समितिलाई फरक पालिकामा खटाउनसमेत निर्देशन दिइएको छ । भदौ १८ गते पालिका, दलित र मुस्लिम समुदायका लागि गठन भएका निर्वाचन समितिको बैठकबाट निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।त्यस्तै भदौ २० गतेदेखि २२ गतेसम्ममा प्रत्येक पालिका कमिटीले प्रतिनिधि छनौट सम्बन्धी कार्यक्रम र कार्यतालिका हरेक सदस्यलाई आधिकारिक रूपले जानकारी गराउनुपर्ने छ ।प्रतिनिधि मनोनयनका लागि पाँच सय रुपैयाँ दस्तुर तोकिएको छ । प्रतिनिधि चयन गर्दा कुनै विवाद आएमा जिल्ला इन्चार्जको नेतृत्वमा पालिका, इन्चार्ज र जिल्ला कमिटी अध्यक्षको अनुगमन समितिले समाधान गर्ने निदेशन पत्रमा उल्लेख छ ।
अनुगमन तथा निर्देशनका लागि एमालेका नेता लिलानाथ श्रेष्ठको संयोजकत्वमा जुली कुमारी महतो, अच्यूत मैनाली र रामअवतार यादव रहेको विशेष समिति गठन गरिएको छ । प्रतिनिधि निर्वाचनको परिणाम घोषणा पश्चात प्रदेश कमिटीले तयार गरेको प्रतिनिधि विवरण फारम भर्नुपर्ने हुन्छ, जसमा प्रमुख निर्वाचन अधिकृत र पालिका कमिटी अध्यक्षको हस्ताक्षरसहित जिल्ला अध्यक्षले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।
दलित र मुस्लिमको हकमा जिल्ला निर्वाचन प्रमुख र पार्टी जिल्ला अध्यक्षको हस्ताक्षर हुनुपर्ने बताइएको छ । हरेक प्रतिनिधिले फर्म बुझाउँदा दुई हजार रुपैयाँ मधेस प्रदेश कमिटीलाई बुझाउनुपर्ने हुन्छ ।त्यस्तै प्रदेश जनसंगठन र विभागको प्रतिनिधि छनौटका लागि पार्टी प्रदेश कमिटीको निर्वाचन विभागले २५ गते भित्रमा एक एक जना निर्वाचन अधिकृत तोक्ने भनिएको छ ।
हरेक जनसंगठनको आफ्नो विधान अनुसार प्रदेश अधिवेशन भएका जनसंगठनमध्ये महासंघबाट ३ जना र अन्यबाट २ जना प्रतिनिधि हुनेछ । जसमा १ जना महिला अनिवार्य हुनेछ । विधान अनुसार गठन भएका विभागबाट १ जना प्रतिनिधि छानिने छ । दलित मुस्लिम क्षेत्रबाट प्रतिनिधि चुनिने वा मतदान गर्न चाहने सदस्यले भाद्र २३ गते भित्रमा सम्बन्धित कमिटीमा लिखित जानकारी दिनु पर्ने बताइएको छ ।
कुनै पनि केन्द्रीय सदस्य तथा केन्द्रीय नेताहरुले चुन्ने या चुनिने प्रक्रियामा भाग लिनु पर्दा पहिलो आफू रहेको कमिटीबाट राजीनामा स्वीकृत अनिवार्य गरेको छ । प्रतिनिधि चयनका लागि पार्टी केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेको आधिकारिक पार्टी सदस्यको नामावलीमा नाम भएका पार्टी सदस्यलाई मात्र उम्मेदवार र मतदान गर्ने अधिकार दिइएको छ ।
थपिएका वा थपिने नयाँ सदस्यको हकमा केन्द्रबाट नम्बरिङ भएर आएको नामावलीका सदस्यलाई भाद्र २१ गते शपथ ग्रहण गराइने अध्यक्ष यादवले जानकारी दिए । शपथ ग्रहणमा उपस्थित भएको आधिकारिक पुष्टि भएका सदस्यलाई चुन्ने र चुनिने अधिकार प्राप्त हुने उनले बताए ।कुनै पनि सदस्यले एक निर्वाचन क्षेत्रमा मात्र चुन्ने र चुनिने अधिकार रहने छ । यदि कसैले जानीजानी गल्ती गरेमा त्यस्तोलाई कारबाही गरिने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ