काठमाडौं। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको १५औँ ब्रिक्स शिखर सम्मेलन बिहीवार दक्षिण अफ्रिकामा सम्पन्न भएको छ । यो सम्मलेनमा ब्रिक्स संयन्त्रको गतिशीलता, बहुपक्षीय मञ्चको विकासको प्रवर्द्धन, बहुपक्षीयताको संरक्षण र विश्वव्यापी शासन सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बहुपक्षीयताका बारेमा छलफल भएको थियो ।
सङ्गठनको ऐतिहासिक विस्तारका क्रममा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) थपिएपछि ब्रिक्स सहयोग संयन्त्रमा जीवन्त, विश्व शान्ति र विकासका लागि सहयोगी हुने धारणा उनीहरूले व्यक्त गरेका छन् । नयाँ सदस्य देश आगामी जनवरी १ देखि पूर्ण सदस्य बन्नेछन् र तिनले सङ्गठनमा नयाँ ऊर्जा प्रवाह गर्ने उनीहरूको अपेक्षा छ ।
विश्व अर्थतन्त्रले गति लिन नसकेको कठिन समयको पृष्ठभूमि तथा कोभिड–१९ महामारीको गम्भीर चुनौतीलाई पन्छाउँदै पहिलोपटक भौतिकरूपमा भएको १५औँ शिखर सम्मेलनले ब्रिक्स देशबीचको ऐक्यबद्धता र सहयोगलाई बढाएको छ ।
वर्तमान अन्तरराष्ट्रिय परिदृश्यलाई आकार दिन, न्यायपूर्ण, समतामूलक विश्व व्यवस्था निर्माणका निम्ति सकारात्मक भूमिका निर्वाह गर्ने सामथ्र्य भएकोे ब्रिक्सले विश्व जनसङ्ख्याको ४२ प्रतिशत र विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको एक चौथाई भाग ओगटेको छ । साङ्घाइमा रहेको नयाँ विकास बैंक र आकस्मिक कोष प्रवाहको व्यवस्थाले ब्रिक्स संयन्त्रअन्तर्गत फलदायी एवम् व्यावहारिक सहयोगको बढाउन सहज हुनेछ ।
खुलापन, समावेशीता र सबै पक्षलाई लाभ हुने सहयोगको भावनालाई समर्थन गर्दै ब्रिक्स संयन्त्रले उदीयमान अर्थतन्त्र र विकासशील देशलाई प्राथमिकतामा राखेको छ । सबै विकासशील देशको प्रतिनिधित्व गर्ने सहयोगी मञ्चलाई पारस्परिक एकताको माध्यमबाट अझ सबल एवम् सहयोगी बनाउनुपर्नेमा चिनियाँ राष्ट्रपति सी चिनफिङले जोड दिएका छन् ।
अनिश्चितताको भुँवरीबाट बाहिर निस्कन कठिन भएको वर्तमान विश्वमा ठूला परिवर्तन र विभाजन, अशान्ति, दीर्घकालीन सङ्क्रमण एवम् भगीरथ प्रयासपछि शान्त रूपान्तरण पनि भोगेको तर त्यो संसारभर अझै लागू हुन नसकेको अवस्थामा कतिपय विकासोन्मुख देशहरू संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य हासिल गर्न अक्षम हुने अवस्थामा छन् । ती देशको उन्नयनमा सघाउनु पनि ब्रिक्सको साझा दायित्व बनेको छ । शीतयुद्धको मानसिकतामा फसेका केही देशले हालैका वर्षमा आफ्नो वर्चस्व कायम राख्न विभाजन र द्वन्द्व सृजना गरेर वैमनस्यलाई बढावा दिएका बेला ब्रिक्सको महत्ता अझ बढेको छ ।
अहिलेको बढ्दो जटिल अन्तरराष्ट्रिय परिवेशमा, विस्तारित ब्रिक्स समूहले साझा वृद्धिलाई प्रवर्द्धन गर्न, बहुपक्षीयताको रक्षा गर्न, अधिक न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासनका साथै बहुध्रुवीय विश्वमा योगदान पु¥याउन ठूलो भूमिका खेल्ने अपेक्षा चीनले गरेको छ । शान्ति र विकासका साथै समग्र विश्वका जनताको साझा आकाङ्क्षामा सघाउन तथा रणनीतिक साझेदारी अभिवृद्धि गर्न सम्मेलनमा चीनले आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १५ : ०९
लेखकबाट थप