अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १२ : ४५
अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

यस अघि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका थिए । साथै, उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपाल रहेको बिषय विश्व समुदायमा ध्यानाकर्षण गरेका थिए । 

यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा ईमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको अर्थमन्त्री डा.महतको भनाइ थियो । 

वन तथा वन्यजन्य सम्पदा नेपालको लागि मात्र नभई विश्व मानव समुदायकै सम्पदाको रुपमा रहेको उल्लेख गर्दै उनले यी प्रयासका वाबजुत पनि नेपाल जलवायू परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा रहेको उल्लेख गरेका छन् । 

नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको उनले बताएका थिए । 

प्रतिक्रिया दिनुहोस