व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न हर्कलाई उच्च अदालतको आदेश

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १२ : ३४
व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न हर्कलाई उच्च अदालतको आदेश

काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न उच्च अदालतले आदेश दिएको छ । साम्पाङलाई उच्च अदालत विराटनगरले जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको हो ।

न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न र उनीहरुमाथि धरपकड नगर्न आदेश दिएको हो । अधिकारी दम्पती आफ्नो जमिनमा उपमहानगरले बिरुवा रोपेको भन्दै यसअघि नै अदालत गएका थिए ।

सो विषयमा अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रुपमा प्रवेश नगर्न, वृक्षारोपण नगर्न, नगराउन आदेश दिएको थियो । सो आदेशपछि पनि साम्पाङको टोलीले घर भत्काइदिने धम्की दिएपछि फेरी विवाद चर्केको थियो । मेयर साम्पाङसँग अधिकारी दम्पत्तिले प्रतिवाद गरेको भिडियो सार्वजनिक भएको थियो ।

दुव्यवहारको गरेको भन्दै मेयर साम्पाङले अधिकारी दम्पत्तिलाई पक्रन प्रहरीलाई उजुरी दिएका थिए । त्यसपछि अधिकारी दम्पती पनि फेरी अदालत पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस