नामी। चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ ।लगभग पाँच सय ४० वटा ओलम्पिक पौडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ ।
सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् ।अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को स्वीकृतिमा पानी प्रवाह गरिएको हो । आइएइएएका सुपरिवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्नेछन् ।
जापानले ट्रिटियम बाहेक सबै रेडियोएक्टिभ तत्वलाई प्रशोधन गरिएको बताएको छ । ती तत्वलाई पानीबाट हटाउन सकिदैन । हाइड्रोजन आइसोटोप पनि प्रवाह गरिएको छ। आइएइएले आणविक केन्द्रको दूषित पानी प्रशोधन गरी सुरक्षितरूपमा महासागरमा प्रवाह गर्ने जापानको योजनाले स्वास्थ्य र वातावरणमा प्रभाव नगण्य हुने भन्दै गत महिना जापानी प्रस्तावलाई अनुमोदन गरेको भए पनि त्यसको निरन्तर विरोध भइरहेको छ ।
चीन र दक्षिण कोरियाले जापानको उक्त कदमलाई अत्यन्त स्वार्थी भन्दै त्यसको कटु आलोचना गरेका छन् । उनीहरूले महासागर कुनै पनि देशको फोहर विसर्जन गर्ने स्थल नभएको बताएका छन् ।‘समुद्र सम्पूर्ण मानवजातिको साझा सम्पत्ति हो र फुकुसिमाको आणविक फोहोर पानीलाई जबरजस्ती समुद्रमा मिसाउनु अन्तरराष्ट्रिय सार्वजनिक हितको बेवास्ता गर्ने अत्यन्त स्वार्थी र गैरजिम्मेवारपूर्ण कार्य हो,’ चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ ।
यसअघि चीन, मकाउ र हङकङले फुकुसिमा र टोकियो वरपरबाट जापानी समुद्री उपज आयातमा प्रतिबन्ध लगाएर विकिरण अनुगमनलाई तीव्र पारेका थिए । हङकङका प्रमुख कार्यकारी जोन लीले जलप्रवाहलाई गैरजिम्मेवार कदम भनेका छन् ।
वैज्ञानिकहरूले पानी प्रवाहबाट कुनै समस्या नहुने बताए तापनि सार्वजनिक चिन्ताका बीच दक्षिण कोरियाले पनि फुकुशिमाबाट माछा र खाद्यान्नको आयातमा प्रतिबन्ध लगाएको छ । दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीले उक्त कदमविरूद्ध मैनबत्ती बालेर राजधानी सोलमा विरोधप्रदर्शन गरेको छ ।
सोलस्थित जापानी दूतावासमा पनि विरोधप्रदर्शन भएको छ । प्रदर्शनकारी युवाको एउटा समूह दूतावास रहेको आठौं तलामा पुगेको थियो । त्यहाँ प्रवेश गरेका १४ जना प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ ।
सन् १९८६ मा भएको चेर्नोविल दुर्घटनापछि फुकिसिमा आणविक केन्द्र दुर्घटना विश्वकै दोस्रो भयानक विपत्ति हो । सुनामीसँगै भएको नौ रिक्टर स्केलको भूकम्पमा परी उत्तरपूर्वी जापानका २० हजारभन्दा बढीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १३ : २९
लेखकबाट थप