प्रदेश सभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत् बजेट ल्याउने कोशी सरकारको तयारी

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, १२ : २२
प्रदेश सभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत् बजेट ल्याउने कोशी सरकारको तयारी

विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी थालेको छ । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरीलाई हस्ताक्षर गर्न लगाएपछि एमालेले संसद् अवरुद्ध गर्ने डरले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरिएको कोशी सरकारका एक मन्त्रीले जानकारी दिए । उनका अनुसार चालू अधिवेशन चाँडै अन्त्य गर्ने तयारी छ । 

सोमवार उपसभामुख सिर्जना दनुवार बिरामी बिदामा बसेपछि कांग्रेसका मन्सुरीलाई सभाको अध्यक्षता गरेका थिए । उनले सभाको अध्यक्षता गरे पनि मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि कोशीमा सत्तापक्ष र विपक्षबीच विवाद शुरू भएको हो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सदनमा सत्ता गठबन्धनले गरेको हर्कतको संसदमै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ‘भोलि सर्वोच्च जान्छौं,’ उनले भने, ‘सदनदेखि सडकसम्म संविधानका हिमायती भन्नेहरूले गरेको उलंघनको भण्डाफोर पनि गर्छौं ।’

बुधवार प्रदेश सभाको बैठक बस्दै छ । प्रदेश सभाको बैठक चल्न नदिने एमालेको रणनीति भएको सत्तापक्षका नेताहरूले बताएका छन् । एमालेले सदन चल्ने दिने छाँटकाँट नदेखिएको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए । 

भदौ १० गतेसम्ममा हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन गरिसक्नु पर्ने कानूनी बाध्यता छ । तर, उक्त प्रतिस्थापन विधेयक ल्याउन संसद् चल्नुपर्छ । 

कार्की नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको थियो । मुख्यमन्त्री कार्कीले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनलाई जेठ ३१ मा अन्त्य गरी भोलिपल्ट जेठ ३२ गते अध्यादेशमार्फत बजेट ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस