प्याजमा कालो बजारी गर्ने पाँच व्यापारीमाथि कारबाही

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, ०८ : २७
प्याजमा कालो बजारी गर्ने पाँच व्यापारीमाथि कारबाही

काठमाडौ । भारतले प्याजको निर्यातमा भन्सार बढाएसँगै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । 

एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । 

भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमबार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको छ । 

सो क्रममा तीन जना व्यापारीलाई जनही रू २० हजार, दुई वटा व्यापारीलाई जनही रू ५० हजारका दरले कारबाही गरिएको छ  ।  चार जना आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको उनले बताए । 

काटीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो रू ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो रू २० सम्म बढेर रू ८० पुगेको थियो । तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो रू १० ले घटेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस