सडक अवरुद्ध हुँदा जलविद्युत् आयोजनाको काम प्रभावित

सफल खबर संवाददाता

विहीबार, ३२ साउन २०८०, १४ : २९
सडक अवरुद्ध हुँदा जलविद्युत् आयोजनाको काम प्रभावित

म्याग्दी । बेनी–दरवाङ सडक पहिराका कारण दैनिकजसो अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित बनेको छ ।धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् र एक सवस्टेशन निर्माणाधीन छन् ।

निर्माण सामग्री र इन्धन आपूर्ति गर्न नपाउँदा जलविद्युत् आयोजना निर्माणको काम रोकिएको प्रवद्र्धकले जनाएका छन् । पच्चीस मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाका व्यवस्थापक गोपाल रेग्मीले पछिल्लो एक हप्तायता बेनी–दरवाङ सडक अवरुद्ध हुँदा आयोजनाको सुरुङ निर्माणको काम रोकिएको जानकारी दिए।“बेनीदेखि विस्फोटक पदार्थ लैजाने बाटोमापर्ने फापरखेत र बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर यातायातअवरुद्ध हुने गरेको छ,” उनले भने, “सडकको असहजताले पोखराबाट बनाएको टनेलभित्र राख्ने डण्डी लैजान सकिएको छैन् ।

”धौलागिरि कालिका हाइड्रो प्रवर्द्धक रहेको दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनाको मालिका गाउँपालिका–६ कमेरेमा दुई वटा अडिटबाट सुरुङ निर्माण भइरहेको छ । मुख्य अडिट बाहेक ९०० मिटर सुरुङ खनिसकेको आयोजनाको पछिल्लो एक हप्तायता निर्माण सामग्री अभाव, विस्फोटकपदार्थ ढुवानीको समस्याले निर्माण रोकिएको आयोजनाका व्यवस्थापक रेग्मीले बताए । 

मालिका गाउँपालिका–७ बिम र धवलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । विद्युत् विकास विभागका अनुसार धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा २३८ दशमलब २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको क्रममा छन् । 

नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ को डाडाँखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, ३७ मेगावाटको अपर म्याग्दी र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्गसम्म पुग्ने सडक अवरुद्ध भएको छ । 

सडकमा पर्ने खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो खसेकाले आयोजनाको पहुँचमार्ग, बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम रोकिएको छ । निर्माण कार्यमा भएको ढिलाइले लागत र निर्माण अवधि बढ्ने देखिएको छ । 

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले आवतजावत तथा ढुवानीको सहजताका लागि बेनी–दरवाङ सडक नियमित सञ्चालन गर्न डोजर र मजदुर परिचालन गरेको बताए । 

प्रतिक्रिया दिनुहोस