भारतमा बन्धक बनाइएका सात नेपाली बालबालिकाको उद्धार

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १६ : २४
भारतमा बन्धक बनाइएका सात नेपाली बालबालिकाको उद्धार

काठमाडौं। नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ ।विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिवार स्वदेश फिर्ता गराएको हो ।

दार्चुलाकी १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो ।ती बालबालिका विभिन्न बहाना तथा प्रलोभनमा भारत पुर्‍याइएको थियो । १ देखि ६ महिनाको अवधिमा हराएका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

 

बालबालिकाको उद्धार र स्वदेशफीर्तिमा प्रत्यक्ष संलग्न संस्था केआईएनका निर्देशक नवीन जोशीका अनुसार ती बालबालिकामध्ये तीन जना बालकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मीना पौडेल र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको रोहबरमा पारिवारिक पुनःमिलन गराइएको छ । एक बालकलाई बालबालिका खोजतलास केन्द्रमा राखिएको छ ।

तीन बालिकालाई रुपन्देहीको एक आवास गृहमा राखिएको छ । बालबालिका भारतसम्म के कसरी पुगे भन्नेबारे थप अनुसन्धान प्रक्रियाका लागि बालिकालाई आवास गृहमा राखिएको हो । उद्धार गरिएकामध्ये दार्चुलाकी बालिका घरबाट भागेर हिँडेको र दिल्लीको मेट्रो स्टेशनमा फेला पािरएको केआईएनका निर्देशक जोशीले जानकारी दिए ।

उनकाअनुसार पाल्पाकी बालिकालाई लागुऔषध प्रयोगकर्ताले सीमा नाकामा भएको चेकजाँचमा बुहारी भनेर झुक्याएर भारत पुर्‍याएका थिए । ती बालिकालाई रेलवे स्टेशनबाट उद्धार गरिएको हो । पर्साकी बालिका दिल्लीमा खोजतलास गर्ने क्रममा खाली कोठामा बन्धक बनाएर राखिएको अवस्थामा फेला पारिएको थियो । 

चारैजना बालकलाई दिल्लीबाट उद्धार गरिएको केआइएनले जनाएको छ । “प्रहरी तथा भारतस्थित नेपाली दूतावासले केआईएन इन्डियालाई केश फरवार्ड गर्नुहुन्छ । त्यही आधारमा काम गछौं”, निर्देशक जोशीले भने, “भेटिनेभन्दा नभेटिने बालबालिकाको सङ्ख्या धेरै छ ।

” सन् २०१८ देखि अहिलेसम्म केआईएनले पाँच सय बढी महिला तथा बालबालिका उद्धार गरेको जनाएको छ।“भारत धेरै जनसङ्ख्या भएकाले कुन क्षेत्रमा छ भनेर पत्ता लगाउन निकै समस्या हुन्छ । भारतीय प्रहरीको सहयोगमा उद्धारको काम गरिरहेका छौं”, उनले भने ।

प्रतिक्रिया दिनुहोस