नोबेलको न्युरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइँदै

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १५ : ३१
नोबेलको न्युरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइँदै

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरू अब दूरबिनको माध्यमबाट गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ ।

 

यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता मेरुदण्ड सम्बन्धीको शल्यक्रिया दूरबिनको माध्यमबाट गरिनेछ । यसका लागि आवश्यक समन्वय र सहकार्य गर्न नोबेल अस्पतालले दक्षिण कोरियाको डेजियन युरी अस्पतालसँग सम्झौता गरेको छ । दक्षिण कोरिया पुगेका नोबेल अस्पतालका उपनिर्देशक एवं न्युरो विभाग प्रमुख वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्लेले सम्झौता गरेका हुन् ।

सम्झौता पत्रमा नोबेलको तर्फबाट डा.काफ्ले र युरी अस्पतालको तर्फबाट अध्यक्ष चिओल वुङ पार्कले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार अब युरी अस्पतालका वरिष्ठ चिकित्सकहरूले नोबेल अस्पतालका चिकित्सकहरूलाई ‘इण्डोस्कोपि स्पाइन सर्जरी’ सम्बन्धी विश्वकै नयाँ प्रविधिको प्रयोगका विषयमा सहजीकरण गर्नेछन् । त्यस्तै, दुवै अस्पतालका चिकित्सकबीच अनुभव आदानप्रदान गर्ने गरी पनि सम्झौता भएको नोबेल अस्पतालका महानिर्देशक दिपेश राईले जानकारी दिए ।

दूरबिनको माध्यमबाट गरिने मेरुदण्डको शल्यक्रियाका लागि कोरियाको युरी अस्पताल विश्वकै प्रसिद्ध मानिन्छ । नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड लगायत देशबाट पनि सो अस्पतालमा नयाँ प्रविधिको अनुभव हासिल गर्न चिकित्सकहरू जाने गरेका छन् । सोही अस्पतालसँग सहकार्य गरेर नोबेलले मेरुदण्ड सम्बन्धी शल्यक्रियामा नयाँ प्रविधिको प्रयोग गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस