मैवाखोलाको बाढीले चार घर जोखिममा

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १४ : ५४
मैवाखोलाको बाढीले चार घर जोखिममा

ताप्लेजुङ । गएरातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ ।बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिए । उनका अनुसार डम्बर धितालसहितका चार घर जोखिममा परेका छन् । बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएको हो ।

यस्तै बाढीले दोभान र चाँगे जोड्ने खोलाको वारिपारि दुवैतर्फको सडक बगाएको उनले बताए । खोला किनारमा पर्ने दुवै तर्फको सडक बगाएपछि चाँगे दोभान सडक खण्डमा यातायात ठप्प बनेको छ ।असार पहिलो साता मौवाखोलामा बाढी आउँदा खोला माथिको पुल जोखिममा परेको थियो भने सडक बगाएको थियो ।

प्रायः बर्सेनि आउने बाढीले दोभानवासीलाई समस्यामा पार्दै आएको स्थानीयले बताएका छन् । ताप्लेजुङमा गएरातिदेखिको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडकहरुमा यातायात सञ्चालनमा कठिनाइ भएका छन् ।निरन्तरको वर्षाले पहिराको जोखिम रहेका क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस