मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा

सफल खबर संवाददाता

मंगलबार, २३ साउन २०८०, ०६ : ५२
मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा

चितवन । चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक र नेपाली सेनाको टोलीले डार्ट गरेर बाघलाई सोमबार अपराह्न ४ः३० बजे खैरहनी १२ सहनपुरस्थित केरा घारीबाट नियन्त्रणमा लिएको हो।

आइतबार सो बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ मृत्यु भएको थियो।

बाघ केराघारीमा पसेको थाहा पाएपछि निकुञ्जको टोलीले आइतबार बिहानैदेखि बाघको खोजी गरिरहेको थियो। बाघ बस्तीमा पसेपछि आइतबार दिनभर गाउँमा त्रास फैलिएको थियो।

मृतक तामाङको शव आइतबार साँझ केराघारीबाट निकालेर परिवारको जिम्मा लगाइएको छ। बाघको खोजीका लागि प्राविधिकसहित आइतबार १५ वटा र सोमबार १२ वटा हात्ती परिचालन गरिएको थियो।

नियन्त्रणमा लिएको बाघ अन्दाजी चार वर्षको भाले बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनले प्राविधिक, कर्मचारी र नेपाली सेनाको ठूलो मेहिनतले बाघलाई नियन्त्रणमा लिन सफल भएको बताए। 

नियन्त्रणमा लिएको बाघ सौराहामा रहेको खोरमा राखिएको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरा र सौराहामा रहेका खोरमा विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएका पाँच वटा बाघ रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ बाघ रहेका छन्।  

प्रतिक्रिया दिनुहोस