अर्थमन्त्री खतिवडाको काम प्रति नेकपाका सांसदहरु असन्तुष्ट, मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई दिन थाले दबाब

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०७५, १२ : १८
अर्थमन्त्री खतिवडाको काम प्रति नेकपाका सांसदहरु असन्तुष्ट, मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई दिन थाले दबाब

काठमाडौं । सरकारले ल्याएको बजेटबाट जनता निराश भएको भन्दै अर्थमन्त्री फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूले अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटका कारण जनता निराश बनेको जनाउँदै फेर्नुपर्ने माग गरेका हुन् ।

बजेट र अर्थमन्त्री खतिवडाको कार्यशैलीका कारण जनतामा दुईतिहाइ बहुमतको सरकारबाट निराश हुँदै गएको जनाउँदै नेकपाका सांसदहरुरूले अर्थमन्त्री फेर्नुपर्ने माग गरेका हु्न् ।
प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रबार सिंहदरबार पुगेका ५ नम्बर प्रदेशका सांसदहरुले अर्थमन्त्री डा खतिवडाको भूमिकाको कडा आलोचना मात्रै गरेनन् सच्चिन नसकेको अवस्थामा राजीनामा दिन लगाएर अर्थमन्त्रालयको जिम्मेवारी फेर्नुपर्ने पनि बताए ।

प्रदेश ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका नेकपाका सांसदहरुले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर आर्थिक वर्ष २०७५–०७६ को बजेट आएपछि सरकारबारे जनताको तहमा गुनासा मात्रै नबढी निराशा पनि छाएको बताएका हुन् । प्रधानमन्त्रीलाई भेटेपछि दाङ क्षेत्र नम्बर १ बाट नेकपाका सांसद मेटमणि चौधरीले प्रतिक्रिया दिँदै सरकारको अलोकप्रियताको कारण बजेट पनि भएको दाबी गरे । ‘वाम सरकारको पहिलो बजेटपछि सरकार अलोकप्रिय बनेको देखिन्छ, यसमा अर्थमन्त्रीको भूमिका मू्ख्य छ’, उनले भने, ‘सकेसम्म कोर्ष करेक्सन गरौं, यदि मिल्दैन भने अर्थमन्त्री फेरेर भए पनि सरकारलाई व्यवस्थित बनाउनु जरुरी हुन्छ ।’

खतिवडाले ल्याएको बजेटले सरकारलाई असफलको बाटोतर्फ लगेको सांसदहरुले दाबी गरे । सांसदहरुले सकेसम्म अर्थमन्त्रालयले आफ्नो बजेटको त्रुटी सच्याउनुपर्ने जिकिर गरे ।
प्रधानमन्त्रीसँगको भेटमा अन्य सांसदहरुले पनि दुईतिहाइ बहुमतको सरकारले ल्याएको बजेट जनतामा विश्वास जगाउन नसकेको जनाउँदै यसबारे गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस