ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १० : ५१
ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

पाल्पा । गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित छन् ।

बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्छन् । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उनी स्थानीय सरकार नै जनताको सरकार भएको बताउछन् ।

“उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ”, उनले भने, “ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन ।”

उनी बिरामी भएका बखत पनि धेरै पटक स्वास्थ्य संस्थामा आउने जाने समस्याले उपचार नगरिकन बसे । बुढ्यौली लागेको शरीर, त्यसैमाथि बिरामी परेपछि हिँडेर स्वास्थ्य संस्थामा जाने तागत नहुँदा धेरै पटक घरमै तातोपानीको भरमा बस्नुपरेको अनुभव सुनाए । हिजोआज गाउँमै निःशुल्क स्वास्थ्योपचार, औषधि सेवा पाउँदा दम, खोकी, रिङ्गटा लाग्नेजस्ता रोगबाट लडेर बस्नु नपरेको उनी बताउछन्।

वर्षायामका बेला ग्रामीण सडक ठाउँ–ठाउँमा बन्द हुँदा घण्टौँ समय लगाएर हिँडेर सम्बन्धित कार्यालयमा पुगेर सेवा लिन अप्ठ्यारो परेकाले गाउँबाटै सबै सेवा पाउँदा ७० वर्षीया मनकुमारी विक खुसी छिन् । “हामी पढाइलेखाइ नभएका ज्येष्ठ नागरिकलाई कति बेला भत्ता बुझ्ने कागजपत्र नवीकरण गर्ने केही थाहा हुँदैन, वडा कार्यालयबाट समय भएपछि आफैँ बुझेर आएर सबै काम गरिदिनुभएको छ, भक्ता बुझ्ने समय मात्रै बैंकमा जाने गरिएको छ, स्वास्थ्य जाँच गरेर औषधि ल्याएर नियमित सेवन गर्न थालिएको छ”, उनी भन्छिन् । 
       
गाउँमा बेला–बेलामा स्वास्थ्य परीक्षण, औषधि वितरण हुने भएपछि टाउको दुखेका, ज्वरो आएको, रुघाखोकी, दम, झाडापखला, सुगर, प्रेसरजस्ता रोग नियमित परीक्षण गराउन थालेको मनकुमारीले बताइन् । ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा गाउँगाउँमा दिन थालेपछि नियमित स्वास्थ्य जाँच गराउने, आफ्ना समस्या स्वास्थ्यकर्मीसमक्ष राख्ने, नियमित औषधि सेवन गर्न थालेका छन् । यस कार्यले ज्येष्ठ नागरिक आफ्नो स्वास्थ्यप्रति पहिलाभन्दा धेरै सहज हुन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस