माओवादी बैठकमा १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

सफल खबर संवाददाता

बुधबार, १७ साउन २०८०, २० : २५
माओवादी बैठकमा १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।

पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बैठकको प्रारम्भमा पार्टी अध्यक्ष दाहालले सङ्गठनात्मक संरचनालाई चुस्त दुरुस्त बनाउने, पार्टी पङ्क्तिलाई वडास्तरमा फर्काउने, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई चुस्त र व्यवस्थित तुल्याउने प्रस्ताव राखेका थिए । आजको बैठकमा अध्यक्षले राखेको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो ।

बैठकको प्रारम्भमा सम्बोधन गर्दै अध्यक्ष दाहालले बैठकको आवश्यकता, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनका सन्दर्भमा धारणा राखेका थिए । सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताए । अध्यक्ष दाहालको सम्बोधनपछि महासचिव देवप्रसाद गुरुङले बैठक कार्यसूचीमा प्रवेश गरेको घोषणा गरेका थिए । महासचिवले पेस गरेको एजेण्डा पास भएसँगै बैठक औपचारिकरूपमा छलफलमा प्रवेश गरेको थियो । बैठकमा अध्यक्ष दाहालले विधान संशोधनको प्रस्ताव पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । अध्यक्षद्वारा विधान संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । माओवादीले केन्द्रीय समिति समावेशी नभएको स्वीकार गर्र्दै विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेको छ । केन्द्रीय समितिमा समावेशी चरित्र देखाउन तथा केही वरिष्ठ नेतालाई सहभागी गराउन विधान संशोधन गर्नुपरेको उनले जानकारी दिए ।

प्रस्तावमा मौजुदा केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाउने उल्लेख छ । अहिले माओवादीको केन्द्रीय समिति तीन सय ८७ सदस्यीय छ । माओवादीमा एक सय ९९ वैकल्पिक केन्द्रीय सदस्य छन् । वैकल्पिक केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाउँछन् । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको महासचिव गुरुङले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहेको तथ्याङ्क राखेका थिए ।

कोशीमा ९९ हजार छ सय एक, मधेसमा एक लाख १६ हजार नौ सय ७५, बागमतीमा एक लाख ४७ हजार तीन सय ५३, गण्डकीमा ६६ हजार छ सय ८७, लुम्बिनीमा एक लाख १२ हजार नौ सय १०, कर्णालीमा ८५ हजार सात सय ७४ र सुदूरपश्चिममा ७० हजार चार सय ८२, सम्पर्क कमिटी १९ हजार तीन सय १३, उपत्यकामा १८ हजार तीन सय २५ र प्रवासमा पाँच हजार पाँच सय ३७ पार्टी सदस्य रहेको अध्यक्ष दाहालको प्रस्तावमा उल्लेख छ । बैठक भोलि बिहान ११ बजे पुनःबस्नेछ ।