रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली

रासस

बुधबार, १७ साउन २०८०, १५ : १२
रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली

रोल्पा। सुन छहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् ।

“वडा नं २ का करिब चार सय घरधुरीमा विद्युत् विस्तार गर्ने योजनानुसार पाँच वर्षअघिदेखि काम थालनी भए पनि अहिलेसम्म बिजुली बाल्न पाएका छैनौँ”, स्थानीय अमन बुढामगरले भने, “खम्बा गाडेर तार झुन्ड्याएको छ, सुरु–सुरुमा विद्युत् आउने आशा लाग्थ्यो, अब आशा पनि मर्न लागिसक्यो ।”

झिम्रुक जलविद्युत् आयोजनाअन्तर्गत केन्द्रीय प्रसारण लाइनबाट उक्त लाइन विस्तार गर्न लागिएको हो । विद्युत् विस्तारको जिम्मा लिएको मुख्य निर्माण कम्पनीले साना–साना निर्माण व्यवसायीलाई काम दिँदा योजना निर्माणमा ढिलाइ भएको स्थानीयको भनाइ छ । पेटीमा काम दिँदा समयमै विद्युत् विस्तार हुन नसकेको स्थानीय मनपती विकले बताए ।

जनआवाज प्राथमिक विद्यालय झेल्कुङका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका विकका अनुसार विद्युत् नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । “हुनेखानेको घरमा सोलार छ, त्यसैको उज्यालोले काम चल्छ, गरिब विपन्नको घर सधैँ अन्धकार हुन्छ”, उनले भने, “सोलारले पनि कहिले काम गर्ने कहिले नगर्ने समस्या भइरहन्छ ।”

भित्रीगाम रोल्पाको सबैभन्दा दुर्गम वडा हो । जिल्ला सदरमुकाम लिवाङबाट २८ कोश टाढा रहेको उक्त वडामा सुनछहरी गाउँपालिको केन्द्र पोवाङबाट समेत एक दिनको पैदलयात्रा गर्नुपर्छ । जिल्लाका अधिकांश वडा कार्यालयसम्म सडक सञ्जाल जोडिए पनि सो वडामा अझैसम्म सडक सञ्जाल जोडिएको छैन । विद्युत्, सडकमात्रै होइन उक्त वडा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत र अत्यावश्यक सेवाबाट समेत टाढा छ ।

माध्यमिक तहको विद्यालय नहँुदा यहाँका विद्यार्थी पाँच घन्टा पैदलयात्रा गरी अर्को वडामा रहेको विद्यालयमा अध्ययन गर्न जाने गर्दछन् । मगर र दलित समुदायको बाहुल्यता भएको सो वडा स्वास्थ्य सुविधाबाट समेत बञ्चित छ । वडामा दुई सामुदायिक स्वास्थ्य एकाइ रहे पनि स्वास्थ्यचौकीको सेवा लिन पाँच घन्टाको पैदलयात्रा गरेर बाहिरी गाम जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस