विपद् व्यवस्थापन मन्त्रालय एक्लैले गर्न सक्दैन : मन्त्री ज्वाला

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, १६ : १०
विपद् व्यवस्थापन मन्त्रालय एक्लैले गर्न सक्दैन : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रालय एक्लैले काठमाडौँमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने स्पष्टीकरण दिएका छन् ।मंगलबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् । 

बैठकमा सांसदहरुले गत श्रावण ७ गते सामाखुशी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए । जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने बताए । 

उनले आफ्नो मन्त्रालयको क्षेत्राधिकार भित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गरेर अघि बढ्ने भन्ने कुरा हुनै नसक्ने जिकिर गरे ।मन्त्री ज्वालाले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुल, सडकलगायतको समस्याबाट कुनैपनि खालको क्षति नहोस् भन्ने कुरामा भने आफ्नो मन्त्रालय सचेत रहेको पनि बताए । 

 ‘सडकसँग, पुलसँग अथवा हाम्रो मन्त्रालयसँग जोडिएका विपद्सँग सम्बन्धित विषयमा यो वर्षामा बाटोघाटो बन्द नहोस् । र मानवीय र अन्य क्षतिनहोस् भन्ने कुरामा हामी सचेत छौं’, उनले भने, ‘अरु विषयमा सम्बन्धित मन्त्रालयसँग पनि बसेर साझा निष्कर्ष निकालौं ।’

उनले ¥यापिड बस सेवा शुरु गर्ने भनिएको भन्दै त्यो पनि एक्लै गरेर नहुने बताए । ‘यातायात व्यवस्था विभागले के गर्ने, सडक विभागले अर्को गर्नुपर्ला । ट्राफिकले गर्नुपर्ला । ५/६ वटा निकायले काम बाँडफाँट गरेपछि काम अघि बढ्या छ । यो कुरामा एक्लै हाम्रो मन्त्रालय, जसको शुद्ध क्षेत्राधिकार पनि भएन । त्यसैले यही नै समाधान भनेर हामीले भन्ने अवस्था रहेन ।

त्यसैले समितिले यही रुपमा लिनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु’, मन्त्री ज्वालाको भनाइ छ । मन्त्री ज्वालाले वर्षातका कारण पूर्वका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएपछि आफ्नो मन्त्रालयले त्यसो हुन नदिनका लागि सक्दो प्रयास गरिरहेको दाबी समेत गरे ।मुग्लिन–नारायणगढ सडक खण्डमा देखिएको समस्या फेरि नबल्झिने गरी समाधान गरिएको मन्त्री ज्वालाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस