मधेसमा डेंगुको प्रभाव न्यून, हालसम्म २२ जना संक्रमित

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १६ : ०७
मधेसमा डेंगुको प्रभाव न्यून, हालसम्म २२ जना संक्रमित

जनकपुरधाम । अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा डेंगु संक्रमणको अवस्था सामान्य छ । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म २२ जनामा मात्रै डेंगु संक्रमण भेटिएको छ ।

निर्देशनालयका निर्देशक डा.राजीव कुमार झाका अनुसार चेकजाँच गराउन आएका व्यक्तिहरुका आधारमा हालसम्म २२ जनामा मात्रै अहिले डेंगु संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एउटा पनि सिरियस केस नरहेको उनले जनाए ।

संक्रमणित देखिएका बिरामीहरु पनि ‘रिकभर फेज’मा रहेको निर्देशक डा.झाले बताए । छिमेकी कोशी प्रदेशमा डेंगु संक्रमण उच्च रहेकाले मधेसमा पनि फैलिने सम्भावना भने उत्तिकै रहेको उनको भनाइ छ ।

डा. झाका अनुसार संक्रमणलाई बढ्न नदिन र लार्भा नष्ट गर्ने अभियान चलाउन जरुरी छ । ‘लार्भा नष्ट गर्ने अभियान चलाउन प्रदेश अन्तर्गतका विभिन्न पालिकासँग छलफलमा छौँ । कतिपय पालिकाले त लार्भा नष्ट गर्ने अभियान चलाइरहेका छन्,’ निर्देशक झाले भने, ‘मधेस प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको पहलमा प्रदेशको ८ वटै जिल्लाको स्वास्थ्य कार्यालय र अस्पतालहरुको सहयोगमा डेंगुको संक्रमणलाई नियन्त्रण गर्न लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।’

डेंगुको संक्रमणलाई रोक्न प्रदेशवासीहरु पनि सावधान हुन जरुरी रहेको निर्देशक झाको भनाइ छ । उनले सार्वजनिक स्थानहरुमा जमेको फोहोर पानीमा लार्भा नष्ट गर्ने औषधि छर्किने काम सरकारी निकायले गरे पनि निजी स्थान जस्तैः गमला, बारी तथा घरका खाल्डा खुल्डीहरुमा फोहोर पानी जम्न नदिन आफू पनि सक्रिय हुन प्रदेशवासीलाई सुझाव दिए ।

संक्रमण बढेको खण्डमा बिरामीलाई उपचारको उचित प्रबन्ध मिलाउन प्रदेशका अस्पतालको ल्याबलाई तयारी अवस्थामा राख्न सरकारले निर्देशन दिइसकेको मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले बताए । संक्रमण बढ्न नदिन प्रदेश सरकार निरन्तर लागिपरेको उनको भनाइ छ ।

संक्रमितहरु सिरियस भएमा प्रभावकारी उपचार होस् भन्नका लागि सरकारी अस्पतालका आईसीयुलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

‘दुई महिनापछि गर्मी कम भए डेंगुको संक्रमण बढ्न पनि सक्छ । त्यसैले अहिले देखिनै त्यसलाई रोक्न स्वास्थ्य कार्यालयहरुलाई बजेट पठाइसकिएको छ,’ सचिव डा. यादव भन्छन्, ‘मधेस प्रदेश सरकारले समयमै यसको पूर्व तयारी गरेकै कारण अहिले यहाँको अवस्था सामान्य छ ।’

यसअघि महोत्तरीको बर्दिबासमा डेंगुको संक्रमण उच्च देखिएको थियो । तर, अहिले प्रदेश सरकारले समयमै पूर्व तयारी गरेका कारण प्रदेशमा डेंगुको संक्रमण न्यून रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस