सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न नेपाली काङ्ग्रेसको माग

शुक्रबार, २५ साउन २०७५, १४ : ५४
सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न नेपाली काङ्ग्रेसको माग

राजविराज । नेपाली काङ्ग्रेसले सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । उक्त पार्टीको जिल्ला कार्यालयले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेशकुमार यादवले वर्षा र सिँचाइको उचित व्यवस्था नहुँदा यहाँका कृषक मारमा परेको भन्दै सो माग गरिएको बताउनुभयो ।

जिल्लामा देखिएका विभिन्न समस्या समाधान हुन नसकेको, जिम्मेवार पदमा बसेकाले प्रभावकारी अनुगमन गर्न नसकेको र विकास निर्माणका योजनामा आर्थिक अनियमितता भइरहेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा तीनै तहबाट भइरहेका विकास निर्माणका कार्यको समितिमबाट प्रभावकारी अनुगमन हुनुपर्नेमा समेत सभापति यादवले जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा स्थानीय नेता ध्रुव देवले राजविराज नगरपालिकाले अदालतको आदेशलाई लत्याउँदै राजनीतिक प्रतिशोधका कारण आफ्नो घर भत्काएको आरोप लगाउनुभयो । नगरपालिकाले पूर्वसूचना बिना आफ्नो घर तोडफोड गरेको बताउँदै उहाँले भित्री सडक बिस्तारका नाममा आफ्नो घरलाई मात्र लक्षित गरी तोडफोड गरिएकामा आपत्ति पनि जनाउनुभयो ।

पँैसठ्ठी प्रतिशत धान रोपाइँ
साउनको अन्तिम सातासम्ममा सप्तरीको ६५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नभएको र १५ दिन अगाडिको वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीले खेतीयोग्य जमीन डुबानमा परेका कारण जिल्लामा ३५ प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यहाँका किसानले सधैँ आकाशे पानीको भरमा खेती गर्नुपर्दा पनि सरकारले सिँचाइको उचित व्यवस्था गर्न नसकेका कारण अधिकांश खेतीयोग्य जमीन बाँझै रहने गरेको सम्बद्ध कृषकको भनाइ थियो ।

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये साउनको अन्तिम समयमा ४१ हजार ५०० हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो ।

मुलुककै पुरानो नहरका रुपमा रहेको चन्द्रनहर जीर्ण भएको र जिल्लामा रहेका अन्य नहरमा खेतीको समयमा पर्याप्त पानी नआउनालेसमेत खेतीको समयमा खेतमा पानी हाल्न नपाउँदा यहाँ धान रोपाइँ ढिलाइ हुने गरेको कृषकको गुनासो छ ।

त्यस्तै कोशी पश्चिमी नहर वितरण प्रणालीको क्षमताअनुसार १३ हजार ३०० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने भएपनि छ हजार ६१६ हेक्टरका लागि मात्र पानी पुग्छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६६५ हेक्टर तथा सेक्टर सिँचाइले दुई हजार ५०० हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध हुन्छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस