‘अपहरणकारी’को इन्काउन्टरबारे अनुसन्धान हुन्छ : गृहमन्त्री थापा

विहीबार, २४ साउन २०७५, १४ : ५२
‘अपहरणकारी’को इन्काउन्टरबारे अनुसन्धान हुन्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउण्टरबारे सरकारले अनुसन्धान  गर्ने बताएका हुन् ।

बालक अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई  डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाईलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानविनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिबद्धता जनाएका हुन् ।

समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था श्रृजना हुनुको कारणबारे सोधपुछ गर्न प्रहरी महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरेका छन् ।  प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस