चुहिने र जीर्ण भवनमा बस्न बाध्य बैतडीका प्रहरी

विहीबार, २४ साउन २०७५, १० : २५
चुहिने र जीर्ण भवनमा बस्न बाध्य बैतडीका प्रहरी

बैतडी । आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न स्थानका प्रहरी चौकी वर्षात्को समयमा पानी चुहिने र जीर्ण भवनमा बस्न बाध्य छन् ।

भाडाका कच्ची घरमा रहेका प्रहरी भवनमा पानी चुहिने समस्या रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । यहाँका १९ प्रहरी चौकी भाडाको भवनमा छन् । उहाँले भन्नुभयो, “भाडामा लिएका घर पनि धेरैजसो जीर्ण अवस्थामा छन् ।”
सदरमुकाम नजिकैका बाराकोटा, थालिगडा, सतबाँझ, नागार्जुन, खोचलेक, गोकुलेश्वर, कुलाउ, शंकरपुर, रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरी चौकी भाडाको भवनमा रहेको उक्त कार्यालयले जनाएको छ ।आफ्नै भवन नहुँदा कुनै ब्यक्तिलाई हिरासतमा राख्दासमेत भवन अभावमा आफैसँग राख्नुपर्ने बाध्यता रहेको सम्बद्ध प्रहरीको गुनासो छ । -रासस

 

प्रतिक्रिया दिनुहोस