तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ

विहीबार, २४ साउन २०७५, १० : ०८
तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ

तेह्रथुम  ।   तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिनको ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ । साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अहिले बजेट र कार्यक्रम नहुँदा भूमिकाबिहीन भएको कार्यालयले यो तथ्यांक पनि अनुमान मात्रै गरिएको जनाएको छ ।

समयमा पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा रोपाइँ हुन नसकेको कृषि प्राविधिक बताउँछन् । विशेषगरी तल्लो औलक्षेत्रका खेत र बेँसीमा पानी नपर्दा रोपाइँ हुन कठिन भएको उक्त कार्यालयका वागवानी विकास अधिकृत राजीव कुमारले बताउनुभयो ।

धान रोप्ने बेला पानी नपरेपछि किसान भोकमरी लाग्ला की भन्ने चिन्तामा छन् । लेकाली क्षेत्रमा भने रोपाइँ गर्ने समयमा छिटफुट वर्षा भएकाले रोपाइँ राम्रै भएको छ । अब पानी नपरे जिल्लामा रोपाइँ हुने सम्भावना कम छ, उहाँले भन्नुभयो । तेह्रथुममा कुल छ हजार ८६० हेक्टर जमिन मात्रै धानखेतीका लागि उपयुक्त छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस