लमजुङमा गत वर्षमा १४ वटा जवरजस्ती करणीका घटना दर्ता

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, ०९ : १०
लमजुङमा गत वर्षमा १४ वटा जवरजस्ती करणीका घटना दर्ता

लमजुङ  ।  लमजुङमा गत आर्थिक वर्षमा मात्रै १४ वटा जवरजस्ती करणी सम्वन्धी घटना भएको प्रहरी तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता भएका जजक सम्वन्धी मुद्धाको तथ्यांकले सो देखाएको हो । 

प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जवरजस्ती करणी सम्वन्धी सातवटा र जवरजस्ती करणी सम्वन्धी अन्य सातवटा मुद्धा दर्ता भएका हुन् । सो बाहेक जिल्लामा चारवटा मुद्धा बाल यौन दुव्यर्रहार सम्वन्धी भएका छन् । 

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षमा जिल्लामा भएका जवरजस्ती करणीका घटनामा अधिकांश पिडितहरु २० वर्ष भन्दा कम उमेर समुहका बालिकाहरु रहेका छन् ।

बढदो वेराजगार, छाडा संस्कृती, मदिराजन्य वा उत्तेजक खानपिन, कुलत, यौन शिक्षाको कमि र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७८/७९ को एक वर्षे अवधीमा २० वटा जवरजस्ती करणी र तीनवटा जजक उद्योग सम्वन्धी घटना भएका थिए । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष अर्थात आव २०७७/७८ मा जजक सम्वन्धी १६ वटा र जजक उद्योग सम्वन्धी चारवटा मुद्धा परेको थियो ।  

लमजुङ प्रहरीका अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ मा मात्रै १० वटा जवरजस्ती करणीका घटना दर्ता भएका थिए भने ९ वटा जवरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएका थिए । सो भन्दा अघिल्लो आर्थिक वर्ष ०७५/७६ को एकवर्षको अवधीमा जिल्लामा १६ वटा जवरजस्ती करणीका घटना भएको थियो । 

लमजुङ प्रहरीको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा जवरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्धा दर्ता भएका थिए । आर्थिक वर्ष २०७३/७४मा पनि जवरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्धा दर्ता भएको प्रहरी तथ्याँक छ ।

यस्तै आर्थिकवर्ष ०७२/७३ मा जवरजस्ती करणीमा सात र उद्योग अन्तर्गत चार मुद्धा दर्ता भएका छन भने आर्थिक वर्ष ०७१/७२ मा जवरजस्ती करणीका पाँच र उद्योगमा चार घटना प्रहरीमा दर्ता भएका छन् ।

प्रहरीको तथ्यांक अनुसार पछिल्लो वर्षहरुमा जवरजस्ती करणीका घटना बढ्दो देखिए पनि गत आर्थिक वर्ष भने कम घटना भएको छ । जवरजस्ती करणी जघन्य अपराध हो । १६ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमै सबन्ध गरेकाे भएपनि जवरजस्ती अन्तर्गत पर्ने कानुनमा उल्लेख छ ।