सीटीईभीटीले बढाएको शुल्क तत्कालका लागि स्थगित

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, १३ : ४५
सीटीईभीटीले बढाएको शुल्क तत्कालका लागि स्थगित

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) शुल्क समायोजन गर्ने निर्णय तत्काललाई स्थगित गरेको छ । सीटीईभीटीले यस वर्षको डिप्लोमा तथा प्रमाणपत्र तहको शुल्क समायोजन गरेको थियो । उक्त विषयमा चौतर्फी विरोध सुरू भएको थियो ।

त्यसपछि परिषद्ले शुल्क समायोजनको निर्णय तत्कालका लागि स्थगित गरेको हो ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले निजी शिक्षण संस्थाका लागि शुल्क समायोजन गरेको छ ।

 

असार २९ गते परिषद्ले शुल्क समायोजन गर्ने निर्णय गरेको थियो । उक्त समायोजनसम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई स्थगित गरिएको परिषद्ले जनाएको छ । परिषद्ले नर्सिङ, सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको शुल्क बढाएको थियो । डिप्लोमा इन फार्मेसीका लागि प्रथम वर्ष १ लाख ६९ हजार ४६४, दोस्रो वर्षका लागि १ लाख २७ हजार ९८ र तृतीय वर्षका लागि १ लाख २७ हजार ९८ रूपैयाँ शुल्क निर्धारण गरेको थियो।

त्यस्तै प्रमाणपत्र तह नर्सिङ्गतर्फ प्रथम वर्ष २ लाख ४९ हजार ६९०, द्वितीय वर्ष र १ लाख ८७ हजार २७० र तृतीय वर्षमा १ लाख ८७ हजार २७० रूपैयाँ शुल्क निधारण गरेको थियो । प्रमाणपत्र तह सामान्य चिकित्सातर्फ प्रथम वर्ष २ लाख ९ हजार ५३०, द्वितीय वर्ष १ लाख ५७ हजार १४५ र तृतीय वर्षका लागि १ लाख ५७ हजार १४५ शुल्क निर्धारण गरेको थियो ।

सीटीईभीटबाट सम्बन्धन तथा स्वीकृति प्राप्त गरी सञ्चालित शिक्षण संस्थामा शैक्षिक सत्र २०७१/०७२ मा तोकिएको शुल्कअनुसार पठनपाठन गराउँदै आएका छन् । परिषद्ले शैक्षिक सत्र २०८०/८१ देखि लागू हुने गरी शुल्क समायोजन गरेको हो ।   

२०७९/०९/०६ मा मन्त्रीस्तरीय निर्णय, विभिन्न समयमा गठित शुल्क समायोजन सम्बन्धी कार्यटोलीका सुझाव तथा परिषद्को असार १ गतेको निर्णयअनुसार शुल्क बढाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस