नेसपा संगठन निर्माण र विस्तार अभियान साउन १ देखि शुरू हुने

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, १२ : ४१
नेसपा संगठन निर्माण र विस्तार अभियान साउन १ देखि शुरू हुने

काठमाडौं।नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान साउनदेखि शुरू हुने भएको छ । साउन १ गते देशभर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेर अभियानको शुरूवात हुने नेसपाले जनाएको छ । वृक्षारोपणसँगै जिल्ला जिल्लामा अभियान उद्घाटन कार्यक्रम सञ्चालन हुने छ । 

 

अभियानको शुरूआती चरणमा प्रदेश स्तरीय प्रशिक्षण बैठक हुने छ । जसमा कोशीमा साउन १५ गते, मधेशमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुनेछ ।पार्टीले अभियान सञ्चालनका लागि विभिन्न प्रदेशमा केन्द्रीय कार्यकारिणी समितिका विभिन्न नेताहरूलाई अभियानको नेतृत्वमा चयन  गरेको छ । 

 

जसअनुसार कोशी प्रदेशमा हिसिला यमि, मधेश प्रदेशमा अध्यक्ष महेन्द्र यादव, बागमती प्रदेशमा गंगा श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर साह र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुने नेकपा प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । 

 

उनका अनुसार अभियानको प्रभावकारिता अनुगमन गर्न अनुगमन समिति पनि बनाइएको छ । राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति बनेको छ ।

प्रतिक्रिया दिनुहोस