लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार असार २९ गतेदेखि

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, १० : ३८
लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार असार २९ गतेदेखि

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो ।

दुबै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो भने नेपाल धितोपत्र बोर्डले समेत असार २५ गते पूर्व स्वीकृति प्रदान गरिसकेको छ । यी सबै प्रक्रिया सम्पन्न भएसँगै दुबै बैंक एक हुन लागेका हुन ।

दुई बैंक एक भई लक्ष्मी सन्राइज बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू हुने जानकारी बैंकले दिएको छ । मर्जर पश्चात् बन्ने बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा रहनेछ । एकिकृत कारोबार सुरू गर्न डाटा माइग्रेसन लगाएतका प्रयोजनका लागि दुबै बैंकको असार २७ गतेदेखि २८ गतेसम्म सबै शाखा कार्यालयबाट प्रदान हुने सेवा अबरूद्ध हुने जानकारी बैंकहरूले दिएका छन् । 

यी दुई बैंक समान हैसिएतमा एक हुन लागेका हुन । हाल लक्ष्मी बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सन्राइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी छ। दुईं बैंक एक भएपछि चुक्तापूँजी रू. २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ । एकिकृत कारोबारका दिनदेखि बढीमा १५ कारोबार दिन दुबै बैंकको शेयर कारोबार समेत बन्द रहनेछ ।

मर्जर तथा प्राप्ति सम्बन्धि पछिल्लो व्यवस्था बमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था रहेको छ । यस अघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पुरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो । 

प्रतिक्रिया दिनुहोस