चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

सफल खबर संवाददाता

सोमबार, २५ असार २०८०, १२ : २६
चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ महिनासम्म एघार खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव ७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव १ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ८ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६ दशमलव ६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ० दशमलव ५ प्रतिशतले वृद्धि भई २, लाख ६० हजार २६२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८ दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव ९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ दशमलव ८ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस