महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १५ : ४२
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई कालिकोट जिल्लाका पाँच विद्यार्थीहरूको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग पुर्याउनका लागि दुई लाख पचास हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।  

बैंकले कालिकोट जिल्लाका सरकारी विद्यालयबाट एसइई उत्तीर्ण गरी काठमाडौँ वा अन्य जिल्लामा गई थप अध्ययन गर्न इच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिईभिटि अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँच जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । 

 

बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई दुई लाख पचास हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।  

 

बैंकले अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले वागीश्वरी मावि भक्तपुरमा अध्ययनरत दत्त कठायत, लोयल्टी एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत इश्वरी शाही, भैरव मावि सुर्खेतमा अध्ययनरत भावना शाही, बे्रन ल्याण्ड एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत सृष्टि शाही र रिलायन्स इन्टरनेसनल एकेडेमी, चाबहिलमा अध्ययनरत सृष्टि कुमारी शाहीलाई प्रति विद्यार्थी पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ ।

 

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगतदेखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक हरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।