एनआरएनए कतारको सचिवमा अधिकारीको उम्मेदवारी

सफल खबर संवाददाता

मंगलबार, १९ असार २०८०, १४ : १५
एनआरएनए कतारको सचिवमा अधिकारीको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारमा रही व्यवसायमा संलग्न अधिकारी नेपाली समुदायबीच समाजसेवीको रुपमा समेत परिचित रहेका छन् । 

 

लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रहेको र आफूले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई  एनआरएनएमार्फत वृहद बनाउन उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । एनआरएनएको तलदेखि माथिसम्म रहेका अनेको समस्या, शंका र निराशालाई चिर्दै विश्वासको उचाइसम्म संघलाई पुर्याउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । 

 

'म विगत लामो समयदेखि कतारको दोहा कर्मथलो बनाएर बसेको छु । इतिहासकै सबै भन्दा सङ्गिन मोडमा उभिएको गैर आवासीय नेपाली सङ्घमा केन्द्रदेखि तलसम्म रहेका अनेकौँ समस्या र अस्पष्टताले आम पञ्जीकृत सदस्यहरूमा उब्जिएको शङ्का र निराशालाई चिर्दै विश्वासको उचाइसम्म संघलाई पुर्याउन म लगायत  गैरआवासीय नेपाली संघका अभियन्ताहरूले धेरै समय व्यतीत र मेहनत गर्नु परेको छ,' उनको भनाई छ । 

 

उनले संघको विभिन्न विभागमा रही काम गर्दा कतारमा रहेका गैरआवासीय नेपालीहरूको चासो र सरोकारलाई सम्बोधन गर्न, श्रमिक समस्या र सहजीकरण गर्न, नेपालमा हुने विभिन्न विपतमा नेपाल र नेपालीको हितमा निस्वार्थ काम गर्न र मध्यपूर्वमा रहेका समग्र नेपालीहरूको हक, हित र सम्भावनाका लागि क्रियाशील रहन एनआरएनए कतारभित्रै रहेर अझ धेरै काम गर्न सकिन्छ भन्ने आफ्नो दृढ विश्वास रहेको बताए ।

'म कतारमा रहेका विभिन्न संस्थाका पदमा नभएतापनि क्रियाशील रुपमा काम गरेको तपाईहरुलाई अवगत नै छ हुन त पदमा भएपनि,नभएपनि समाज सेवा गर्न त सकिन्छ । तर संस्थामा आबद्ध भएर काम गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्दा संस्थाप्रतिको जिम्मेवारी भने अवश्य बोध हुनेछ', उनले भने,  यही विश्वासबाट गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको २०२३–२५ का लागि सचिव पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु। तपाईँहरुले म जस्ता निस्वार्थ समाज सेवा गर्ने युवालाई एकपटक एनआरएनए कतारको वर्ष २०२३-०२५ को सचिवको जिम्मेवारी प्रदान गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।'

उनले आफ्नो उम्मेदवारीबारे सबैको सुझाव, साथ र सहयोगको अपेक्षा पनि गरेका छन् । उनी नेपाली जनसम्पर्क समिति कतारसँग नजिक मानिन्छन् । एनआरएनए कतारकाे अधिवेशन आगामी जुलाइमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस