काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागुऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्मती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कारमा सवार ४ जना, डिएल १ जिसि ३०३५ नम्बरको ट्रकका चालक, डिएल १२ सिए ०५७८ नम्बरको स्कारपियोमा सवार ५ जना र प्र.२-०३-००७ प.४७५४ नम्बरको मोटरसाइकलमा सवार २ जना गरी जम्मा १२ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडक छेउबाट अवैध लागुऔषध गाँजा करिब २ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय प्रदिप गिरी समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
काठमाडौंकै तारकेश्वर नगरपालिका-१० लोकतान्त्रिक चोक डेरा गरी बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-११ घर भएका २५ वर्षीय सुनिल वादीलाई अवैध लागुऔषध गाँजा करिब ३ केजीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उनकै कोठाबाट उक्त गाँजासहित पक्राउ गरेको हो ।यता कास्कीको पोखरा महानगरपालिका-९ कृष्णटोल बस्ने २८ वर्षीय सुरज बिकलाई अवैध लागुऔषध गाँजा करिब ५ सय ग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उता झापाको शिवसताक्षी नगरपालिका-९ झरना टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीया झरना विक र कमल गाउँपालिका-३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेका छन् । विकले आफ्नै घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
झापाकै मेचीनगर नगरपालिका-८ निन्दाखोला पुल नजिक छेउको झाडीबाट वेवारिसे अवस्थामा प्लाष्टिकको झोलामा रहेको नियन्त्रित लागुऔषध मेथामफेटामाइन जस्तो देखिने पदार्थ ८ सय ७० ग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त लागुऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ