बोतल प्रहारबारे प्रकाश सपूतले भने – मेरो मनमा गहिरो चोट पुगेको छ

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, ११ : २१
बोतल प्रहारबारे प्रकाश सपूतले भने – मेरो मनमा गहिरो चोट पुगेको छ

काठमाडौं।गायक प्रकाश सपूतले रोमानियामा प्रस्तुति दिँदै गर्दा बोतल प्रहार भएको घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त घटनापछि आफू मानसिक रुपमा अलि विक्षिप्त भएको समेत उल्लेख गरेका छन् । उक्त घटनाको घोर भर्त्सना र निन्दा गर्दै घटनासँग अरू कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको उनले उल्लेख गरेका छन् । 

‘घटनासँग अरू कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुन त सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिहरूको जीवनमा आइपर्ने यस्ता घटना र किस्साहरू पढ्दै, सुन्दै आएको हो’ उनले लेखेका छन् ‘तर स्वयम् आफू चाहिँ तयार भइसकेको रहेनछु । भर्खर यात्रा सुरु गरेको छु ।

यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनपेक्षित घटनाहरूले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’ उनले कोभिड पछाडि यस्तो डर(एन्जाइटी) लाई पटक–पटक जित्दै आएको भएर यो डर पनि जित्ने विश्वास व्यक्त गरेका छन् । प्रकाशले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ भन्दै सानै उमेरमा ठूलो रकम तिरेर विदेश जानुपर्ने वाध्यताले धेरै नेपालीहरूमा चरम निराशा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको बताएका छन् । 

लामो स्टाटसमा उनले आफ्नो कर्मले अरूलाई खुशी बाँड्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । उनले कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्ने सम्पूर्ण कलाकर्मी, संगीतकर्मी, अधिकारकर्मी, मिडियाकर्मी, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लगायतलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस