काठमाडौं । न्याय परिषद् सचिवालयको बैठक विनानिष्कर्ष सकिएको छ । सोमवार बसेको परिषद् बैठकमा उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा छलफल भए पनि निर्णय भने हुन सकेन ।
न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार आउँदो बुधवार ९असार १३ गते पुनः बैठक बसेर न्यायाधीश नियुक्तिबारे निर्णय हुने छ । 'आज तीन घण्टा जति न्यायपरिषदको बैठक बस्यो । न्यायाधीश नियुक्तिका विषयमा लामो छलफल पनि भयो । तर, निर्णय भने केही हुन सकेन,' कार्कीले भने, 'अब पर्सि बुधबार बस्ने बैठकबाट निर्णय होला ।'
न्यायपरिषद बैठक बस्नुअघि न्याय सेवा आयोगको बैठकसमेत बसेको थियो । बैठकले लोकसेवा आयोगबाट उत्तीर्ण भएका ७ जना उपसचिवहरूलाई नियुक्ति दिनुका साथै पदस्थापन गर्ने निर्णय भएको कार्कीले जानकारी दिए ।
३ जना उपसचिवहरूलाई सर्वोच्च अदालत, एक जनालाई कोशी प्रदेश सभा, एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय जुम्ला र एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय डोटीमा पदस्थापन गरिएको उनले बताए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा न्यायपरिषद् तथा न्याय सेवा आयोगको बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, १६ : ५२
लेखकबाट थप