अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो प्रतिबन्ध

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, १३ : २४
अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाका खेलाडी केल फिलिप्सले अवैध बलिङ एक्सन प्रयोग गरेको आईसीसीको इभेन्ट प्यानलले पुष्टि गरेको छ । तत्कालका लागि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ ।

गएको आइतबार आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलपछि म्याच अफिसियलले २६ वर्षीय यी खेलाडीको बलिङ एक्सनमा सन्देह व्यक्त गर्दै प्यानलमा रिपोर्ट गरेका थिए ।इभेन्ट प्यानलले फिलिप्सको बलिङ एक्सनको भिडियो फुजेटको विश्लेषण गरी अबैध बलिङ एक्सन भएको ठहर गरेको हो ।

उनलाई आईसीसी नियमको धारा ६.७ अनुसार तत्कालका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको आईसीसीले जानकारी दिएको छ ।आइतबार म्याच अफिसियलले रिपोर्ट गरे पनि फिलिपले मंगलबार भएको नेपालविरुद्धको खेलमा पनि बलिङ गरेका थिए । उनले नेपालविरुद्ध ७ ओभरमा ४९ रन खर्चेका थिए ।

विश्वकप छनोटमा नेपाल, अमेरिका र वेष्ट इण्डिजसहित घरेलु टोली जिम्बाव्वे र नेदरल्याण्ड्स समूह ए मा छन् । अमेरिकाले समूहको आफ्नो अन्तिम खेल सोमबार घरेलु टोली जिम्बाव्वेसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस