आईसीसी विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध नेपाल बलिङ गर्दै

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, १३ : ०५
आईसीसी विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौँ। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल सुरु भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको छ ।

प्रतियोगितामा आफ्नो तेस्रो खेल खेलिरहेको नेपाल वेस्ट इन्डिजलाई हराएर दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिएको छ ।नेपाल यसअघिको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराउँदै विजयी भएको थियो ।एकदिवसीय वरियतामा वेस्ट इन्डिज १०औँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा छ ।

यसैगरी समूह ‘ए’ को जिम्बावे चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै वेस्ट इन्डिज अङ्क तालिकाको दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। वेस्ट इन्डिज र नेपालले समान दुई अङ्क जोडेका छन् । त्यस्तै अमेरिका चौथो स्थानमा छ भने नेदरल्याण्ड्स पाँचौँ स्थानमा छ ।

प्रतियोगिताको समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), श्रीलङ्का, ओमान, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन् ।  सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउने छन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन वेष्ट इन्डिजसँग नेपालको यो पहिलो खेल हो ।नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्डसँग खेल्नेछ ।