मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १० : ५१
मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन

सिन्धुली । आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तान्तरण गरेका छन् । जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तान्तरण गरेको बागमती प्रदेशका मन्त्रीले सो जानकारी दिएका हुन ।

१ हजार भन्दा बढी कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राइस स्टीमर मेसिनको व्यवस्था गरिदिएका हुन् । उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपालमा नै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको हो । 

केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए ।‘लामो समयसम्म आफैँले बन्दी जीवन बिताएको जिल्ला कारागार सिन्धुलीमा मन्त्री बनेपछि निरीक्षण गर्न जाँदा झन्डै १ हजार बन्दी बस्दै आएको यस कारागारमा दाउराबाट खाना बनाउन साह्रै गाह्रो देखेपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट राइस स्टिमर उपलब्ध गराउने प्रतिबद्धता गरेको थिएँ’ हस्तान्तरण कार्यक्रम पछि उनले भने ।

‘सोही प्रतिबद्धता अनुसार ४ लाख ६५ हजार (ढुवानी समेत) को करिब १ हजार जनालाई खाना बनाउन मिल्ने ४ थान राइस स्टिमर कारागार प्रशासनलाई हस्तान्तरण गरियो ।’ उनका अनुसार बागमती प्रदेश सरकारले कारागारलाई साँच्चैको सुधार गृह बनाउन चाहेका छ । मन्त्री श्रेष्ठको पहलकदमी अनुसार कारागारलाई हस्तान्तरण गरिएको  ४ ट्रे को २ थान र १२ ट्रे को २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस