कुशल र आसिफको कीर्तिमानी साझेदारीमा जिम्बाबेलाई बलियो लक्ष्य

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८०, १६ : २९
कुशल र आसिफको कीर्तिमानी साझेदारीमा जिम्बाबेलाई बलियो लक्ष्य

काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले घरेलु टोलीलाई बलियो लक्ष्य दिएको छ । हरारे मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ओपनर कुशल भुर्तेल र आसिफ शेखको दुर्लभ कीर्तिमानी साझेदारीमा पुरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २९० रन बनाएको हो ।

नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए । 

भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९९ रनमा आउट भए । उनी कीर्तीमानी शतक बनाउन १ रनले चुके । यस्तै, आसिफ शेख सय बलमा ६६ रन बनाएर आउट भए ।कप्तान रोहित पौडेलले ३१ रन बनाउँदा कुशल मल्लले ४१ रन जोडे ।

गुल्सान झाले १३ रन र आरिफ शेखले १० रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरी ६ रन बनाउँदै आउट हुँदा करन केसी २ रन बनाउँदै नटआउट रहे । भीम सार्की शून्यमै आउट भए ।जिम्बाबेका लागि रिचर्ड नागरावाले चार विकेट लिए । विलिटन मासाकादजाले दुई विकेट र तेन्डाई चतरा र आशीर्वाद मुजरबानीको नाममा एक-एक विकेट रह्यो ।