काठमाडौंमा सामुदायिक विद्यालय बन्दको आह्वान अवज्ञा

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८०, ११ : ३९
काठमाडौंमा सामुदायिक विद्यालय बन्दको आह्वान अवज्ञा

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हानको काठमाडौंमा अवज्ञा भएको छ । काठमाडौंमा सामुदायिक विद्यालयहरुमा निर्वाध पठनपाठन भईरहेको छ । सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरुले आजदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।

विद्यालय बन्दको आह्वान भएपछि काठमाडौंका मेयर बालेन्द्र साहले हिजो विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले काठमाडौं महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिंदै कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने चेतावनी दिए। उनले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिएका थिए ।

विद्यालय बन्द गराउन जबर्जस्ती गरिए प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाउने र फौजदारी मुद्दा चलाउन पहल गरिने पनि मेयर साहले चेतावनी दिए। काठमाडौं बाहिरका जिल्लाहरुमा भने पठन पाठन अवरुद्ध भएको छ ।