वीरेन्द्रनगरमा नगर बस सेवा सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, १२ : ५३
वीरेन्द्रनगरमा नगर बस सेवा सुरु

सुर्खेत । कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमा आजदेखि नगर बस सेवा सुरु भएको छ । सुर्खेतका यातायात व्यवसायीहरुको साझा पहल र नगरपालिकाको समन्वयनमा नगर बस सेवा सुरु भएको हो । नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नगर बस सेवाको आरम्भ गरेकी हुन् ।

उनले नागरिकको आवश्यकताअनुसार नगर माइक्रो सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गरिनेमा विश्वास व्यक्त गरिन् । आजदेखि सुरु भएको नगर बसको भाडादार रु.२० मात्रै तोकिएको छ । यो भाडादार धुलियाविटदेखि बाँगे सिमलसम्मको हो । मुख्यगरी फोरलेन सडकको धुलियाविटबाट मंगलगढी चोक, एरिचोक हुँदै मुलपानीदेखि प्रदेश अस्पताल भएर बाँगेसिमल पुग्ने गरी नगर बस सञ्चालन गरिएको छ ।

यही रुट भएर गाडीहरू पुनः धुलियाविट पुग्नेछन् । १० वटा माइक्रो गाडी १०–१० मिनेटको फरकमा छुट्ने कार्य तालिका बनाइएको छ । काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले यात्रुलाई सहज सेवाका लागि भाडादार रु.२० मात्र कायम गरिएको बताए । 

 

धुलियाविटदेखि बाँगेसिमलसम्मको भाडा २० रुपैयाँ कायम गरिएको छ भने बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न पनि भाडादार २० रुपैयाँ नै कायम गरिएको छ । अब मंगलगढी–काँक्रेविहार, मंगलगढी–एयरपोर्ट, बामेखोला, गणेशचोक–आँखा अस्पताल चोक हुँदै कालिन्चोक, नेवारे लगायतका भित्री रुटहरूमा पनि माइक्रो बस थप गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस