फिलिपिन्ससँग हार्‍यो नेपाल

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १९ : ३०
फिलिपिन्ससँग हार्‍यो नेपाल

काठमाडौं  । साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार फिलिपिन्ससँग खेलेको मैत्रीपूर्ण खेलमा १-० को पराजय भोगेको छ। 

फिलिपिन्सको मनिलास्थित रिजल मेमोरियल रंगशालामा ४:४५ मा सुरु भएको खेलको खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो। 

दोस्रो हाफको सुरुआतमै गोल खाएको भ्रमणकारी नेपालले बराबरी गोल फर्काउन नसक्दा पराजित हुनुपर्‍यो। हार्भे गायोसोले ४९औं मिनेटमा गरेको गोल फिलिपिन्सलाई जिताउन पर्याप्त बन्यो।

साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुनेछ। ए डिभिजन लिगका कारण लामो तयारी समय नपाएको नेपाली टीम केही दिन यता फिलिपिन्समै अभ्यास गरिरहेको छ।

नेपाल र फिलिपिन्सले यसअघि ६ खेल खेलेका थिए छन्। जसमा नेपालले एक र फिलिपिन्सले चार खेल आफ्नो पक्षमा पर्दा एक खेल बराबरीमा सकिएको थियो।

नेपाल र फिलिपिन्सले सन् १९८२ मा पहिलो पटक भिडेका थिए। किङ्ग कपमा भएको उक्त भेटमा नेपाल १-० ले विजयी भएको थियो।

त्यसयताका पाँच खेलमा नेपालले चार खेल गुमाउँदा एक खेल बराबरीमा सकिएको थियो। नेपालले सन् २०११ मा ४-० तथा २०१४ मा भएका दुई भेटमा समान ३-०  को पराजय व्यहोरेको थियो। यी तीनै वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थिए।

एसिया कप छनोट अन्तर्गत सन् २०१७ मा भएको पहिलो भेटमा नेपाल ४-१ ले पाजित हुँदा दोस्रो खेल गोलविहीन बराबरीमा सकिएको थियो। त्यसयता नेपाल र फिलिपिन्स पहिलोपटक आमनेसामने भएका हुन्।

प्रतिक्रिया दिनुहोस