प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्न खोजियो: मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १५ : ०४
प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्न खोजियो: मन्त्री श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिक्रान्तिकारी शक्तिहरुले अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्ने खतरा बढेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले माओवादीहरुले लडेर ल्याएको उपलब्धी रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गइरहेको बताए । उनले उपलब्धिहरुको रक्षा गर्न नसक्नुको परिणामस्वरुप् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा।

बाबुराम भट्टराईका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको बताए ।मन्त्री श्रेष्ठले क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले प्रतिक्रान्तिकारी षड्यन्त्र निस्तेज पार्न एकताबद्ध हुनुको विकल्प नभएको बताए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने – ‘क्रान्ति निकै निर्मम हुन्छ । क्रान्तिको केन्द्रीय प्रश्न राज्यसत्ता हो । क्रान्तिमा हारेका वर्ग र शक्तिले जहिल्यैपनि प्रतिक्रान्तिको लागि अन्तिम प्रयास गरिरहन्छ । गुमेको आफ्नो सत्ता स्वर्ग फिर्ता गर्न नाभिदेखिको बल लगाइरहन्छ ।

यो उनीहरुको धर्म नै हो । मुख्य कुरा बास्तवमा त्यो होइन । मुख्यकुरा क्रान्तिकारी शक्तिहरुले क्रान्तिको बलमा प्राप्त गरेको सत्ता, शक्ति, उपलब्धि रक्षा गर्दै संस्थागत गर्न सधैँ सचेत रहनुपर्दछ ।’उनले माओवादी धारका पार्टीहरुका बिचमा एकता आवश्यक रहेको बताए । गणतन्त्र लगायतका राजनीतिक परिवर्तनको रक्षा गर्न र सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्न एकता आवश्यक रहेको उनको भनाई छ । 

मन्त्री श्रेष्ठले यथास्थितिमा माओवादी धारका दलहरुका बिचमा एकता सम्भव नभएको स्पष्ट पारे । एकताका लागि सबै रुपान्तरण हुनुपर्ने उनले बताए । मेरो गोरुको बाह्रैटक्का भनेर आ–आफ्नै डम्फु बजाएर बसे जनयुद्ध लडेका नेताहरुको अवसान हुने उनको तर्क छ ।नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले माओवादी केन्द्रलाई एकताकालागि लिखित रुपमा आधार प्रस्तावहरु दिएको जानकारी दिए ।

उनले माओवादी पार्टीबाट औपचारिक रुपमा कुनै जवाफ नआएको र पार्टीको केन्द्रीय समितिको बैठक बसेर आफुहरुले पठाएको प्रस्तावमाथि छलफल गरी औपचारिक रुपमा जवाफ लेख्ने जानकारी पाएको बताए ।

प्रतिक्रिया दिनुहोस