मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

सफल खबर संवाददाता

सोमबार, २२ जेठ २०८०, १० : ५५
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिलो हुँदा पनि काठमाडौं उपत्यकामा पानी नियमित ल्याउनका लागि ‘गेट’ मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ ।

प्रणालीअन्तर्गत गेट नम्बर–१ ले पानी सुरुङभित्र पठाउने, गेट नम्बर–९ ले फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “गेट नम्बर–९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन ।”

आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो । पानी पथान्तरणको काम ‘हेडवर्क्स’ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ ।

गएको मंगलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकैपटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले भने, “सुरुमा एकतिहाइ र त्यसपछि दुईतिहाइ गर्दै पूरा क्षमतामा पानी ल्याउने गरी मिलाइएको छ ।” उपत्यकामा पहिलोपटक मेलम्चीको पानी वि.सं. २०७७ चैतमा ल्याइएको थियो । पहिलोपटक पानी ल्याइएको केही महिनामा नै असारमा लेदोसहित आएको बाढीका कारण त्यहाँको संरचनामा क्षति पुगेको थियो । त्यो अहिलेसम्म पनि पुनर्निर्माण भइसकेको छैन ।

गत दुई वर्ष पनि हिउँदमा मात्र उपत्यकामा पानी ल्याइएको थियो । पानी पथान्तरणका लागि निर्माण गरिएको संरचना हेडवर्क्सको क्षति भएपछि अहिले अस्थायी रूपमा पानी पथान्तरण गरेर ल्याइएको छ ।

वर्षाको समयमा बाढी आउन सक्ने र यसले गर्दा सुरुङभित्र बाढी पस्ने जोखिम भएकाले गत वर्षहरूमा वर्षामा सुरुङ बन्द गरिएको थियो । यो वर्ष गेटको मर्मत गरेर सम्भव भएसम्म वर्षामा पनि पानी चलाउने समितिको योजना रहेको छ ।

उपत्यकामा मेलम्चीका कारण हिउँदमा पानीको अभाव कम भएको छ । उपत्यकाका भित्री भागमा पहिले पानीको बढी समस्या रहेकामा अहिले भित्री भागमा नियमित पानी वितरण भइरहेको छ । चक्रपथबाहिरका धेरै ठाउँमा भने वितरणका लागि पाइप बिछ्याउने काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस