दृष्टिविहीन रोशनीको वकिल बन्‍ने सपना

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०७५, १७ : ३६
दृष्टिविहीन रोशनीको  वकिल बन्‍ने सपना

काठमाडौं । कालो ‘स्ट्रेट’ कपाल, श्वेत गोलाकार अनुहार । बाइकको पछाडि बसेकी रोशनी अधिकारीको चित्र हो यो । प्रदर्शनी मार्गस्थित नेपाल ल कलेज अघिल्तिर भेटिएकी उनको ‘लुक्स’ शुरुमा यस्तै देखिएको थियो । गोरखा अजिरकोट काफलडाँडाकी उनी बीएएलएलबी पहिलो सेमेस्टरकी विद्यार्थी हुन् । कलेजको ड्रेसमा निकै स्मार्ट देखिएकी थिइन् । जन्मैदेखि नेत्रहीन रोशनी वकिल बन्ने लक्ष्यसाथ कानुन विषय पढिरहेकी छन्  ।

कानुन पढ्छु भन्दै गर्दा उनलाई कसैले सोधेको थियो, आँखा नदेख्नेले कसरी न्याय दिन सक्छौ? ‘लेडी जस्टिस,’ उनले जवाफ दिएकी थिइन्, ‘न्यायमूर्तिका आँखामा पट्टि बाँधिएको हुन्छ ।  र, हातमा तराजु हुन्छ । त्यसैले, आँखा देख्नेले मात्र न्याय दिन सक्छन् भन्ने होइन ।’

आँखा नदेखेर के भो र! रोशनी सानैदेखि मेधावी छात्रा हुन्। सामाजिक, नेपाली, अंग्रेजी विषय अध्ययन गर्न उनलाई खासै समस्या छैन । तर, गणितमा उनले बढी समस्या बेहोर्नुपर्छ । स्कुले जीवनमा गणितको गृहकार्य गर्नुपर्दा उनलाई आफूले पनि आँखा देख्न सक्ने भए हुन्थ्योजस्तो लाग्थ्यो ।

कीर्तिपुरको ल्याबोरेटरी स्कुलबाट एसएलसीमा ‘डिस्टिङ्सन’ ल्याएकी थिइन्, उनले। साउथ वेस्टर्न कलेजबाट पत्रकारिता, सोसोलोजी र मेजर इंग्लिसमा प्लस टु गर्दा पनि ‘डिस्टिङ्सन’को श्रेणी घट्न दिइनन् । नेपाल ल क्याम्पसमा प्रवेश परीक्षा (इन्ट्रान्स) दिँदा उनी नौ सय एक जनालाई उछिनेर पहिलो भइन् ।

जीवनलाई दृष्टिविहीन हुनुको लघुताभाष हुन दिएकी छैनन्। उनको त्यो समस्या हटाउन बाबु-आमाले धेरै मिहिनेत गरे । नेपालका सबैजसो आँखा विशेषज्ञ चिकित्सकलाई देखाए । उपचार सम्भव नभएको निष्कर्ष निस्कियो ।

चिकित्सकसँगै उनका पिता रामप्रसाद अधिकारीले पनि निष्कर्ष निकाले, रोशनीको सबलता केलाएर उनको जीवन सुन्दर बनाउने । रोशनीलाई बाबु–आमाले सदैव प्रोत्साहन र साथ दिइरहे ।

पढाइका साथमा अतिरिक्त क्रियाकलापमा पनि लाग्न प्रेरित गर्छन्, उनका बाबु–आमा । विभिन्न पुस्तक पढेर सुनाउँछन् । ‘मेरो सफलताको रहस्य मेरा बुवा–आमा नै हुनु हुन्छ,’ उनी भन्छिन्, ‘यतिको ‘इन्करेजिङ’ बाबा–आमा पाउनु मेरो भाग्य हो ।’

कतिसम्म भने गुडिया खेलाउने उमेरमा उनी ब्रेल लिपीको अध्ययनमा तल्लिन थिइन । उनलाई जसरी भए पनि अँध्यारो संसारभित्र उज्यालो भविष्यको गन्तव्य पहिल्याउनु थियो ।

होस्टेलमा बसेर पढेकी उनी १० वर्ष मुनिका बच्चालाई घरमै राख्न सल्लाह दिन्छिन् । घरमा जस्तो वातावरण बच्चाले होस्टेलमा नपाउने उनको धारणा छ । होस्टेल बस्दा उनले महिनामा एक पटक घर जान पाउँथिन् । ‘फेरि होस्टेल फर्किन मन मान्दैनथ्यो,’ उनी भन्छिन् ।

उनका बाबु रामप्रसाद गोरखामा  सुर्यज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए । अहिले एक सहकारी र राजनीतिमा लागेका छन् । आमा महेन्द्र राष्ट्रिय माविमा शिक्षिका हुन् ।

शुरुमा समस्या नदेखिएका उनका भाइमा पनि विस्तारै आँखाको कमजोरी देखा परेको छ । चिकित्सकहरूले उनको पनि उपचार हुन नसक्ने बताएका छन् ।

रोशनीले  प्रारम्भिक शिक्षा अाहले गोरखा, श्री सरस्वती माध्यमिक विद्यालयबाटै प्राप्त गरेकी हुन् । तर, त्यहाँ ब्रेल लिपीको सुविधा भएपनि उच्च शिक्षाका लागि रामप्रसादले कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा भर्ना गरिदिएका थिए ।

वकिल बनेपछि उनी अपांगता भएका व्यक्तिहरू र महिलाको अधिकारका लागि आवाज उठाउने योजनामा छिन् । आँखा बन्द गरेर मानिसले एक पाइला सार्न सक्दैन। रोशनी भने यही अन्धकारमा आफ्नो संसार निर्माणको यात्रामा छिन् ।

प्रविधिको विकासले उनलाई अध्ययन अगाडि बढाउन सहज भएको छ । ‘ स्क्यानर’ उनका लागि भरपर्दो माध्यम बनेको छ । ल्यापटप र मोबाइलमा ‘स्क्रिन रिडिङ सफ्टवेयर’ उनका लागि वरदान सावित भएको छ ।

सानैदेखि उनी अतिरिक्त क्रियाकलापमा संलग्न थिइन् । त्यो लगावलाई कमि हुन दिएकी छैनन् । ‘अन्तर–उपत्यका साउन्ड टेबल-टेनिस’को विजेता हुन्, रोशनी । हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिताहरूमा उनले कहिल्यै हार्नु परेको छैन । बुद्धिचाल (चेस) पनि उनको रुचिको खेल हो ।

२०७४ सालको उच्च माध्यमिक विद्यालय लैंगिक अध्ययन विषयमा ‘टप’ गरिन्, उनले । र, शमी साहित्य प्रतिष्ठान, काठमाडौंले २० हजार नगदसहित समता लैंगिक अध्ययन पुरस्कार प्रदान गर्‍यो ।

पुस्तकालयहरू मात्र होइन, शौचालय, सडक, विश्वविद्यालय र कार्यालयहरू कुनै अपांग मैत्री हुन नसकेकामा उनलाई चिन्ता लाग्छ । संविधानले नै व्यवस्था गरेको अपांग विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था सरकारले कार्यान्वयनमा नल्याएकामा उनी दुःखी छिन् ।

प्रतिक्रिया दिनुहोस