सेनाद्वारा नौ दिने विपद् प्रतिकार्य प्रशिक्षण शुरू

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १२ : ०२
सेनाद्वारा नौ दिने विपद् प्रतिकार्य प्रशिक्षण शुरू

रसुवा । नेपाली सेनाद्वारा नौ दिने विपद् प्रतिकार्य प्रशिक्षण हिजो (बुधबार)बाट शुरू भएको छ । सेनाको विष्णुदल गणले विपद् प्रतिकार्यसम्बन्धी नौ दिने प्रशिक्षण शुरू गरेको हो ।

जिल्लाको उतरगया गाउँपालिकाका ६ वटै वडाहरूमा प्राकृतिक र भईपरी आउने विपदबाट सचेत हुन उक्त प्रशिक्षण शुरू गरिएको सेनाले जनाएको छ । सेनाले हिजोबाट तोकिएका निश्चित व्यक्तिहरूलाई तालिम प्रदान गर्दै आएको छ । उतरगया गाउँपालिकाले आयोजना गरेको विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सहयोग तथा प्रतिबद्ध, पिपुल, निड, सिएसआरसी, कधल र सेभ द चिल्ड्रेनको सहकार्यमा प्रशिक्षण शुरू गरिएको हो ।

प्राकृतिक विपत्ति भूकम्प, बाढि, पहिरो, हिमाल विस्फोट, आगलागी, हावाहुरी चट्याङ्ग तथा भईपरी आउने विपदबाट जोगिन र उद्धारका लागि हिजोबाट उक्त प्रशिक्षणको आयोजना गरिएको छ ।

गाउँपालिकाका ६ वटै वडामा वडाध्यक्षसहित अन्य ३० जना व्यक्तिहरूको समूह बनाइ सेनाले प्रशिक्षण दिइरहेको छ ।