नीति तथा कार्यक्रमका विषयलाई बजेटमार्फत सम्बोधन गर्न चेम्बरको आग्रह

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, १३ : ३४
नीति तथा कार्यक्रमका विषयलाई बजेटमार्फत सम्बोधन गर्न चेम्बरको आग्रह

काठमाडौं।नेपाल चेम्बर अफ कमर्सले सरकारको नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ ।चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमको अवस्थामा रहेका बेला नीति कार्यक्रम परिणाममुखी हुने विश्वास लिएको छ ।नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटमार्फत सम्बोधन गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

“हालको आर्थिक मन्दी र लगानीमा देखिएको सङ्कुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रामा समावेश गर्न सकेको छैन, आर्थिक स्थायित्व कायम गर्ने गरी आगामी बजेट आउन आवश्यक छ” चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।नीति तथा कार्यक्रमले आंशिकरुपमा भए पनि निजी क्षेत्रका माग भने सम्बोधन गरेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, “निजी क्षेत्रले उठाएका केही माग सम्बोधन भएका छन् ।

उत्पादनमुखी कार्यक्रम, औद्योगिक विकास र सार्वजनिक निजी साझेदारी अवधारणालाई प्रभावकारी बनाउने गरी नीति कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ ।”नीति तथा कार्यक्रममा महत्त्वाकाङ्क्षी योजना घोषणा हुने तर कार्यान्वयनको पाटो फितलो हुने समस्याप्रति पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सीमित स्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिम रहेको चेम्बरको ठहर छ ।