डा. केसीको पक्षमा उठेको आन्दोलन भोलिबाट बन्द हुन्छ : जनार्दन शर्मा

सफल खबर संवाददाता

विहीबार, १० साउन २०७५, १५ : ५३
डा.  केसीको पक्षमा उठेको आन्दोलन भोलिबाट बन्द हुन्छ : जनार्दन शर्मा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले डा. गोविन्द केसीको पक्षमा उठेको आन्दोलन भोलिबाट बन्द हुने दाबी गरेका  छन् ।

पत्रकारसँगको कुराकानीमा नेता शर्माले सरकारले अब जनताको पक्षमा उचित निर्णय लिने र यो निर्णयपछि स्वतः आन्दोलन बन्द हुने बताए ।

सरकारले मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्ने आवाज उठिरहेका बेला नेकपाका एक प्रभावशाली नेता शर्माले अब जनताका पक्षमा निर्णय गर्ने बेला आएको बताएका हुन् । उनले स्वास्थ्य शिक्षा र मेडिकल कलेज सबै सरकारले जिम्मा लिनुपर्ने समय आएको स्पष्ट गरे ।

‘स्वास्थ्य शिक्षा, मेडिकल कलेज सबै सरकारले जिम्मा लिनुपर्ने समय आएको छ । तर यसमा सरकारले प्राइभेट सेक्टरलाई बाइपास गर्यो भन्ने भ्रम सिर्जना हुन पनि सक्छ । पहिला निर्णय गरेको भए प्राइभेट सेक्टरलाई सरकारले लगानी गर्न दिएन भनेर प्रश्न आउँथ्यो । त्यो प्रश्न नआओस् भन्नका लागि जनमत जरुरी थियो । त्यो जनमत अहिले प्राप्त भएको छ ,’ नेता शर्माले भने ।

उनले अहिले सरकारको जति आलोचना भएको छ, त्यो सरकारको पक्षमा रहेको पनि बताए । नेता शर्माले अब मेडिकल कलेजहरु राष्ट्रियकरणको दिशातिर जानसक्ने सङ्केत गरे । शर्माले डा. केसीको विषयमा प्रश्न उठ्ने ठाउँलाई नै समाप्त गर्नुपर्ने बताए ।

‘गोविन्द केसीको मुद्दामा सरकारले नयाँ कदम लिनुपर्छ, जसले जनतामा विश्वास पैदा हुन्छ । जनताको अपेक्षा, शिक्षा स्वास्थ्यमा अहिले जे माग छ, त्यसको सम्बोधन सरकारले गर्छ । अब आन्दोलनमा उठेका भ्रमहरूलाई चिर्ने गरेर सरकारले निर्णय गर्नुपर्छ र गर्छ । यो आन्दोलन भोलिबाट बन्द हुन्छ’, उनले भने ।

शर्माले अहिले सरकार समस्या समाधानका लागि सकारात्मक तवरबाट वार्तामा रहेको बताए । नेता शर्माले केसीको आन्दोलन पहिलो नभै निरन्तरताको आन्दोलन भएकाले यसलाई फरक ढङ्गले समाधान गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस