देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, ०६ : ५९
देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी रहेको बताएका छन्।

काठमाडौँमा सनुर्भी इन्टरनेसनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले आफ्नो मन्त्रालय खेलकुदमा मात्र सीमित नरहेको बताए।

‘हामी युवाको अन्य गतिविधीमा सहकार्य गर्न तत्पर छौँ। युवाको विचार, दृष्टिकोण तथा सिर्जनशीलतामा सहकार्य गर्न सके समृद्धि अवश्य सम्भव छ’, उनले भने।

मन्त्री लिम्बूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा पुग्न धेरै मेहनत चाहिने बताए। ‘प्रयाश गरिरहनु पर्छ। सफलता अवश्य मिल्छ’, उनले भने।

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ सम्पन्न

सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ सम्पन्न भएको छ। ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले, ‘मिस नेसनल नेपाल २०२३’ समा पराजुली, ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार बनेका छन्।

चारैजनाले सोही शीर्षकअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बूलाई घोषित गरियो।

प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० जना सहभागी थिए।

प्रतिक्रिया दिनुहोस